इटहरी । नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ को आयोजनामा सुनसरी सदरमुकाम इनरुवामा 'प्रथम इनरुवा उत्सव तथा चलचित्र महोत्सव २०७९' आयोजना हुने भएको छ । आयोजक समितीले इटहरीमा अवस्थित डिथ्री अनलाइनको कार्यालयमा एक पत्रकार सम्मेलन गर्दै महोत्सव यहि फागुन ७ गते देखि १७ गते सम्म संचालन हुने जानकारी गराईएको छ । महोत्सवलाई इनरुवा नगरपालिकाले संयोजन गरेको छ । महोत्सवमा प्रदेश १ मा बनेका लामो तथा छोटो फिल्महरुलाई विशेष रुपमा प्रदर्शन गरिदैछ । जसको लागि फिल्महरु दर्ता गर्ने प्रक्रिया समेत चलिरहेको सम्मेलनमा बताईएकाे हाे ।

यस्तै इनरुवाको नाम उच्च राख्ने शिक्षा, स्वास्थ्य, खेलकुद, चलचित्र, पत्रकारिता लगायतका क्षेत्रमा विशेष योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान गरिने महासंघका अध्यक्ष अरुण कुमार प्रधानले जानकारी गराउनुभयाे । प्रतिभा प्रवर्द्धन तथा स्थानिय उत्पादनलाई प्रोत्साहित गर्ने उद्देश्य समेत यो महोत्सवको भएका कारण बेबी फेन्सी ड्रेस प्रतियोगिता, साहित्य सम्मेलन, उत्कृष्ट तरकारी उत्पादक प्रतियोगिता, विद्यालय स्तरीय नृत्य प्रतियोगिता, बेहुली सुन्दरी प्रतियोगिताको समेत महोत्सव अवधिमा आयोजना गरिने भएको छ ।महोत्सवलाई अझ रोचक बनाउन नेता भर्सेज अभिनेता फुटवल खेल तथा हरेक साझ सास्कृतिक कार्यक्रम र विभिन्न जातिय झाकी प्रदर्शन गरिने प्रधानले बताउनुभयाे ।

सुरुवाती चरणमा महोत्सव ५ दिने गरिने तयारी रहेको भएपनि इनरुवावासीको उत्साह र चासोलाई ध्यानमा राख्दै ११ दिनसम्म लम्ब्याईएको छ । प्रदेश १ मा जन्मिएर लोकप्रिय बनेका कलाकारहरूको जमघट पनि महोत्सवमा देख्न सकिने बताईएको छ । प्रदेश १ को नाम उच्च राख्न योगदान पुर्याउने चलचित्र क्षेत्रका हस्तिहरुलाई 'प्रदेश १ तारा' उपमाले सम्मान समेत गरिने अध्यक्ष प्रधानले बताउनुभयाे । कार्यक्रममा सहभागी अतिथीहरुलाई बराहक्षेत्र नगरपालिका क्षेत्रमा पर्ने प्रस्तावित फिल्मीसिटीको भ्रमण गराउने कार्यक्रम समेत रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएकाे हाे । पत्रकार सम्मेलनमा महासंघ अध्यक्ष संगै महासचिव दिनेश कोइराला, महोत्सव समितिका सदस्य शंकर महाजु, फिल्म निर्देशक भिषण राई, पुर्वान्चल फिल्म एण्ड ईन्स्टिच्युट अफ फिल्म एण्ड टेलिभिजनका सिइओ रोनिश राउत लगायतका अतिथीहरुको उपस्तिथि रहेको थियो ।