काठमाडौं । नेपाली कांग्रेसकी नेतृ द्रौपदा शर्मा पोखरेलको आज बिहान निधन भएको छ । एक सय दुई वर्षीया पोखरेलको आज बिहान ४ बजे काठमाडौंको सामाखुसी रानीबारीस्थित निवासमा निधन भएको हो ।
२००७ सालको जनक्रान्तिको समयदेखि प्रजातन्त्र पुनःस्थापनामा उहाँको योगदान थियो । उहाँ २००७ सालको जनक्रान्तिपछि स्थानीय महिला संघको अध्यक्ष बन्नुभएकाे थियाे । उहाँको आजै पशुपतिमा अन्त्येष्टि गरिने जेठा छोरा रामचन्द्र पोख्रेलले जानकारी दिनुभयाे ।
द्रौपदा नेपाली कांग्रेसको केन्द्रीय सदस्य समेत हुनुभएकाे थियाे । उहाँ गोवर्द्धन शर्मा स्मृति ट्रष्टको अध्यक्ष र संरक्षक हुनुहुन्थ्याे ।उहाँ स्वर्गीय गोवर्द्धन शर्मा पोखरेलकी पत्नी हुनुहुन्छ । उहाँ संविधानसभा सदस्य रामचन्द्र पोखरेल, गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री कृष्णचन्द्र पोखरेल, योजना आयोगको पूर्वउपाध्यक्ष डा. जगदीशचन्द्र पोखरेल र सुवास पोख्रेल तथा छोरीहरु प्रियंवदा र सत्यवतीकी आमा हुनुहुन्छ ।