राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक बिहीबार अपरान्ह साढे ४ बजे बस्ने भएको छ । केन्द्रीय समिति र पार्टी संसदीय दलको संयुक्त बैठक पार्टी कार्यालयमा बस्ने केन्द्रीय सदस्य दीपक बोहराले जानकारी दिनुभयाे ।
नागरिकता प्रकरणमा सभापति रवि लामिछानेले उपप्रधानमन्त्री तथा गृहमन्त्री पद गुमाएछि रास्वपाले फेरि उक्त मन्त्रालय आफूहरुलाई नै दिनुपर्ने बताउनुभएकाे छ ।
सभापति लामिछानेले आफूलाई नै गृह मन्त्री नियुक्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई दबाव दिइरहनुभएकाे छ ।
तर प्रधानमन्त्रीले नागरिकता प्रकरणमा सर्वोच्च अदालतले सुनाएको फैसलाको पूर्णपाठ नआएको र राहदानीसम्बन्धी विवाद पनि रहेकाले गृह मन्त्रालय दिन नसक्ने सन्देश रविलाई दिनुभएकाे छ ।
तर रास्वपाले सरकार निर्माणका क्रममा भएको सहमति अनुसार गृह मन्त्रालय आफूहरुलाई दिनुपर्ने अडान राखेको छ । गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनीसमेत रास्वपाले दिएको छ ।
गृह मन्त्रालयमा रविबाहेक पार्टीकै अर्को व्यक्ति पठाउनुपर्ने आवाज पनि रास्वपाभित्र झिनो रुपमा उठेको छ । बिहीबारको बैठकमा यी सबै विषयमा छलफल हुने रास्वपाका एक नेताले जानकारी दिनुभयाे ।