लन्डन । वाउट फिजले गरेको दुई आत्मघाती गोलसँगै लिभरपुलले इङ्लिस प्रिमियर लिगमा शुक्रबार राति लेस्टर सिटीलाई २–१ गोलको नतिजामा पराजित गरेको छ। एन्फिल्डमा भएको खेलको चौथो मिनेटमा डजबरी हलको गोलमा लेस्टरले अग्रता लिएको थियो।
तर, पहिलो हाफको खेल सकिन सात मिनेट बाँकी रहँदा फिजले गरेको आत्मघाती गोलसँगै लिभरपुलले बराबरी गर्यो। पहिलो हाफको अन्तिम मिनेटमा फेरि फिजले अर्को आत्मघाती गोल गरेपछि लिभरपुलले अग्रता लियो।
दोस्रो हाफमा सोही अग्रताको बचाउ गर्दै लिभरपुलले जित सुनिश्चित गर्यो। जितसँगै १६ खेलमा २८ अंक जोडेको लिभरपुल लिग तालिकाको छैटौं स्थानमा उक्लिएको छ। समान खेलबाट १७ खेलमा १७ अंक जोडेको लेस्टर १३औं स्थानमा छ।
शुक्रबार राति नै भएको अर्को खेलमा ब्रेन्टफोर्डले वेस्ट ह्याम युनाइटेडलाई २–० को नतिजामा पराजित गरेको छ। ब्रेन्टफोर्डका लागि दुवै गोल इभान टोनेले गरेका थिए।