काठमाडौं । अमेरिकी आकाशमा चिनियाँ जासुसी बेलुन देखा परेको छ । अमेरिकाको उत्तर पश्चिमी मोन्टाना राज्यको आकाशमा चिनियाँ जासुसी बेलुन देखा परेको हो ।
अमेरिकी रक्षा अधिकारीले उक्त ‘उच्च उचाईमा रहेको जासुसी बेलुन’ चीनको भएको पुष्टि गरेका छन् । बीबीसीका अनुसार अमेरिकी सेनाले उक्त बेलुन जमिनमा खसाल्ने योजना नरहेको बताएको छ ।
जमिनमा भग्नावशेष खस्ने चिन्ताका कारण जमिनमा बेलुन खसाल्ने योजना नरहेको अमेरिकी अधिकारीको भनाइ छ ।
यता चिनियाँ पक्षले भने घटनाबारे विस्तृत विवरण आउनुअघि नै यसबारे टिकाटिप्पणी नगर्न आग्रह गरेको छ । अमेरिकाको उत्तरी छिमेकी मुलुक क्यानाडाले पनि जासुसी बेलुन फेला पारेको र यसबारे अमेरिकालाई जानकारी गराएको उल्लेख गरेको छ ।
अमेरिकी अधिकारीका अनुसार अमेरिकाको अलास्का राज्यको एल्युसिन टापु समूहबाट उडाइएको उक्त बेलुन क्यानाडाको आकाश हुँदै मोन्टाना पुगेको हो ।
ह्वाइट हाउसले निर्देशन दिएको खण्डमा उक्त बेलुन खसाल्न एफ २२ लगायत लडाकु विमान तयारी अवस्थामा राखेको अमेरिकी सेनाले जनाएको छ ।