कालीकोट । कालीकोटको नरहरिनाथ गाउँपालिका ८ मा पर्ने सालझारी सामुदायिक वनमा आगलागी हुँदा एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । शनिवार वनमा काठ काट्न गएका १२ जनामध्ये तीन जना आगलागीमा परेर जलेका हुन् ।
ज्यान गुमाउनेमा खाँडाचक्र नगरपालिका २ का ५५ वर्षीय जयलाल विक रहेका छन् । त्यस्तै घाइते हुनेमा नरहरिनाथ–८ का ४७ वर्षीय अदाने विष्ट र ३२ वर्षीय धिरेन्द्र विष्ट रहेका जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख जयश्वर रिमालले जानकारी दिनुभयो ।
आगलागीबाट घाइते भएका अदाने विष्टलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला लगिएको र उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाण्डौको कीर्तिपुर अस्पताल रिफर गरिएको छ । अछामको पन्चदेवल सामुदायिक वनबाट सुरु भएको आगो नरहरिनाथ ८ को सामुदायिक वनसम्म पुगेको थियो ।