काठमाडौं । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पछिल्ला दिनहरुमा बैंकको ब्याजदर क्रमशस् कम हुँदै जाने संकेतहरु देखिएको बताउनुभएको छ । सोमवार ललितपुरमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको लघु, घरेलु, साना तथा मझौला उद्योग सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
अर्थमन्त्री पौडेलले बैंकहरुको ब्याजदर कम हुँदै गएकाले यसको तिब्रताका लागि आफूहरु लागेको बताउनु भयो । उहाँले महँगो ब्याजदरलाई सीमाभित्र राख्नुपर्छ भन्ने सरकारको सोच भए पनि ब्याजदर र मुद्रास्फितिको सम्बन्ध हुने बताउनु भयो ।
अर्थमन्त्री पौडेलले निजी क्षेत्रले वित्तीय क्षेत्रमा पहुँचको माग गरेको भन्दै त्यसमा भएका कमीहरु र समाधानका उपायहरु सरकारलाई दिन आग्रह गर्नुभयो । उहाँले राष्ट्र बैंक स्वायत्त कानुनको आधारमा सञ्चालित स्वायत्त संस्था भएकाले राष्ट्र बैंकलाई अर्थ मन्त्रालयले कुनै हिसाबले हस्तक्षेप नगर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘वित्तीय क्षेत्रमा पहुँचको कुरा गर्नुभएको छ, कस्तो कमी र कस्तो समाधान हो रु त्यस हिसाबमा पनि सुझाव दिनुहुनेछ । ब्याजदर महंगो भयो भन्ने चर्चा छ, ब्याजदर कुनै न कुनै रुपमा मुद्रास्फितिसँग जोडिएको छ, त्यसैले हामीले मुद्रास्फिति र महंगीलाई नियन्त्रण गर्दै महंगो ब्याजदरलाई पनि सीमाभित्र राख्नका लागि पहल गर्नुपर्छ भन्ने वर्तमान सरकारको सोच हो । राष्ट्र बैंक आफैँ स्वायत्त कानुनको आधारमा सञ्चालित स्वायत्त संस्था हो ।
त्यसले आफ्ना विषयमा स्वतन्त्र निर्णय गर्ने अधिकार राख्छ । राष्ट्र बैंकलाई अर्थ मन्त्रालयले कुनै हिसाबले हस्तक्षेप गर्दैन । पछिल्ला दिनहरुमा ब्याजदर क्रमशः कम हुँदै जाने संकेतहरु देखिएका छन् । हामी यस बारेमा गहन छलफलमा छौँ । यो प्रक्रियाले अलिकति तिब्रता लेओस्, वाञ्छित सीमा भित्र कायम हुन सकोस् र मेरा प्रयासहरु त्यसमा केन्द्रित हुनेछन् ।’