काठमाडौँ । खानेपानी मन्त्री अब्दुल खानले बुधबार पदभार ग्रहण गर्नुभएकाे छ । पदभार ग्रहण गर्दै उहाँले केही नयाँ काम
गर्नका लागि आफूले नचाहँदा नचाहँदै खानेपानी मन्त्रालय सम्हाल्न आइपुगेको बताउनुभयाे । सरकार र पार्टीबीचको तारतम्य
नमिलेर मन्त्रालय सम्हाल्न ढिलो भएको बताउँदै उहाँले प्रधानमन्त्री प्रचण्ड, खानेपानी मन्त्रालयका सचिव र एक सांसदको
आग्रहमा आफू मन्त्रालय सम्हाल्न बाध्य भएको प्रष्ट पार्नुभएकाे छ ।

मन्त्रालयको विषयमा पटक पटक प्रधानमन्त्री प्रचण्डसँग छलफल भएको र उहाँको आग्रहमा आफुले मन्त्रालय सम्हालेको
बताउनुभयाे । मन्त्री खांनले भन्नुभयाे, ‘प्रधानमन्त्री प्रचण्डले काम गर्दिनुस्, राम्रो काम गर्नुभयो भने सरकार बलियो हुन्छ, सरकार काम गर्न सक्षम छ, जनतामा पुगेपछि अन्य कामहरु अगाडि बढाउन पनि सजिलो हुन्छ भनेका कारण मन्त्रालय सम्हाल्न राजी भएँ ।’
खानेपानी मन्त्रालयका सचिवले पनि मन्त्रालयमा आउन पटक–पटक आग्रह गरेको उहाँले सुनाउनुभयाे । मन्त्री खानले भन्नुभयाे,
‘खानेपानीमा थुप्रै समस्या छन्, महत्वपूर्ण कामहरु छन्, त्यहाँका समस्याहरु समाधान गर्नुपर्ने देखिएका कारण मन्त्रालय
आउनुस् मिलेर काम गरौं भनि सचिवले आग्रह गर्नुभयो, त्यसैले मन्त्रालय सम्हाल्न राजी भएँको बताउनुभयाे ।’ मन्त्री खांनले
एक जना सांसदले पनि मन्त्रालय सम्हाल्न आग्रह गरेको स्मरण गर्नुभएकाे थियाे । उहाँले यिनै तीन कारणले मन्त्रालय
सम्हाल्न आएको समेत बताउनुभयाे ।

आफू केही गर्ने वाचाका साथ मन्त्रालय सम्हाल्न आएको भन्दै मन्त्री खानले अनुशासित र इमान्दारीपूर्वक काम गर्न
कर्मचारीलाई निर्देशन पनि दिनुभयाे । मन्त्री खांनले भन्नुभयाे, ‘राम्रो र इमान्दारीपूर्वक काम गर्नेको हरहमेसा मेरो साथ रहन्छ । अरु दायाँ–बायाँ गर्न पाइँदैन इमान्दारीपूर्वक काम गर्नेको साथमा म हुन्छु ।’ उहाँले एक घर, एक धाराको व्यवस्था, १० हजार
लिटर पानी निशुल्क, लिफ्टबाट पानी दिँदा बिजुली निशुल्क गर्ने जस्ता कार्यक्रम सरकारले नीति तथा कार्यक्रममा राखेको
बताउनुभएकाे छ ।
खानेपानी क्षेत्रमा देखिएको समस्या समाधान गर्ने गरि आफूले काम गर्ने बताउँदै उहाँले गुणस्तरीय पानीको परीक्षणका
लागि एउटा इकाई बनाएर अस्पताल र विमानस्थल लगायतका विभिन्न सार्वजनिक ठाउँमा पानी परीक्षणको व्यवस्था
मिलाउने बताउनुभयाे ।