काठमाडौं । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोग लागेका दुईजना चिनियाँ नागरिक जेल चलान भएका छन्। उनीहरूलाई काठमाडौं जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा राख्न कारगार कार्यालय जगन्नाथदेवल सुनधारा चलान गरिएको हो ।
चिनियाँ नागरिक चेन याङ र रूआन चाओहोङले ३ जना नेपालीलाई फ्रि भिसा र फ्रि टिकटमा अनलाइन सेल्स मार्केटिङको काममा लगाइदिने भन्दै लाओस पुर्याएका थिए।
महिनामा १ हजारदेखि १५ सय डलरसम्मको कमाइ हुन्छ भन्दै प्रलोभनमा पारी गत भदौ १७ गते काठमाडौंबाट भारत, थाइल्याण्डहुँदै लाओस पुर्याएका थिए ।
त्यहाँ पुर्याएपछि बिट क्वाईनमा ईन्भेष्ट गराउने लगायतका गैरकानुनी काम लगाउनुको साथै २ महिना काम लगाई पीडितहरूबाट उल्टै ३ लाख ९० हजार रकम समेत लिएको बुझिएको छ।
लाओसमा मानसिक यातना दिएको अवस्थामा आफन्तको सहयोगमा गत कात्तिक २५ गते उनीहरू नेपाल फर्किएका थिए । उक्त कार्यमा संलग्नमध्ये एकजनालाई काठमाडौंको ठमेल र एकजनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।