काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितहरुसँग सरकारले गरेको सहमति कार्यान्वयन हुने बताउनुभएको छ ।
आईतवार स्वास्थ्य परीक्षणपछि आ–आफ्नो घर फर्किन लागेका मिटरब्याज पीडितहरुलाई भेट्न पुग्नुभएका गृहमन्त्री श्रेष्ठले सरकारले गरेको सम्झौता कार्यान्वयन हुने बताउनुभएको हो । सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उहाँले पीडितहरु सरकारसँग गरेको सम्झौता कार्यान्वयन हुनेमा विश्वस्त भएर फर्किन लागेका बताउनु भयो । सरकार सहमतिप्रति गम्भिर रहेको भन्दै सहमतिको कार्यान्वयन हुने स्पष्ट पार्नुभयो । उहाँले समस्या समाधानका लागि आयोग बनाउने प्रश्ताव मन्त्रिपरिषद्मा पुगिसकेको भन्दै आवश्यक निर्णय गरेर प्रक्रिया अगाडी बढ्ने बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘वार्ता भएर हामीले सहमति पनि गरिसकेका छौँ । उहाँहरु अब फर्किने तयारीमा हुनुहुन्छ । फर्किनुभन्दा अगाडी हामीले उहाँहरु सबै हिँडेर आउनुभएको यत्रोदिन उताबाट स्वास्थ्य परीक्षण पनि गराऔँ । केही उपचार गर्नुपर्ने छ भने उपचार पनि गराऔँ भनेको थियौँ, त्यो के भइरहेको छ भनेर एउटा, दोस्रो कुरो उहाँहरु जाने स्थितिमा अझै केही छ कि भन्नुपर्ने भनेर आन्दोलनकारी साथीहरुसँग कुरा गर्ने भनेर आएको । उहाँहरु हामी जाने क्रममा छौँ ।
हामी विश्वस्त भएर जादैछौँ । धेरैले आजै बेलुका जान्छौँ होला भन्नुभएको छ । सहमती कार्यान्वयन हुन्छ उहाँहरु ढुक्क हुनुहुन्छ । पहिला कार्यान्वयन नभएका कारणले वा समस्या भएको कारणले नै हामीले गम्भिरतापूर्वक लिएर यसलाई कार्यान्वयनमा लैजाने कुरा गरेका हौँ । त्यसकारणले अब कार्यान्वयन हुन्छ । आयोग बनाउने कानूनको प्रक्रिया अगाडी बढिसकेको छ । आयोग बनाउने प्रक्रिया हुन्छ तुरुन्तै प्रश्ताव मन्त्रिपरिषद्मा पुगिसकेको छ ।’
पीडितहरु पनि सहमति कार्यान्वयन हुनेमा विश्वस्त देखिएका छन् । सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उनीहरुले आफूहरुले न्याय पाउनेमा विश्वास व्यक्त गरे । उनीहरुले सरकारले गरेको सहमतिप्रति विश्वास रहेको बताए ।
पासवानले आफूहरु भोलि(सोमवार)सम्ममा गाउँ फर्किसक्ने बताउनु भयो । उहाँले गाउँसम्म पुग्ने व्यवस्थापन आफूहरु स्वयंले गरेको जानकारी दिनुभयो ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठमिटरब्याज पीडितसहमति कार्यान्वयन