दैलेख । जिल्ला प्रहरी कार्यालय दैलेखले हिरासतमा थुनिएकाहरुका लागि पुस्तकालयको व्यवस्थापन गरेको छ। मुद्दाको अनुसन्धान प्रक्रियाका क्रममा हिरासतमा रहेकाहरुलाई समय कटाउन सजिलो होस् भनेर पुस्तकालयको स्थापना गरिएको कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायब उपरीक्षक डीएसपी किशोर लम्सालले थुनुवाहरुलाई पुस्तक वितरण गरेर सोमवार आज पुस्तकालयको शुभारम्भ गर्नुभएको हो
पुस्तकालयमा विभिन्न विधाका उपन्यास, कथा, कविता, निबन्ध, धार्मिक ग्रन्थ, सामान्यज्ञान जस्ता दुई सयभन्दा बढी पुस्तकहरू राखिएको छ । स्वेच्छिक रुपमा पुस्तकालयमा पुस्तक दिनेहरुको अभिलेख राखिने कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीले बताउनुभयो ।
प्रहरी हिरासतमा रहेकाहरुले लिएको पुस्तक भरपाइ गरी पढ्न दिने र पढिसकेपछि फर्काउने र अर्को पुस्तक पढ्न पाउने तर मुद्दाको अनुसन्धानपछि अभियोग पेस भएपछि अदालतले कारागार चलान हुने वा धरौटीमा छुटेकाहरुले पुस्तक फर्काउनुपर्ने नियम राखिएको छ ।