काठमाडौं । निर्वाचन आयोगले यही चैत ३ गते हुने उपराष्ट्रपति पदको चुनावका लागि प्रचारप्रसार निषेधका अवधिमा राजनीतिक दलको बैठकबाट उम्मेदवारलाई मत दिने वा नदिने निर्णय नगर्नरनगराउन ध्यानाकर्षण गराएको छ ।
उम्मेदवारका सम्बन्धमा कतिपय राजनीतिक दलका बैठक र त्यससँग सम्बन्धित सार्वजनिक अभिव्यक्ति आएका सन्दर्भमा आज आयोगले प्रेस विज्ञप्ति जारी गरी त्यसप्रति ध्यानाकर्षण गराएको हो ।
आयोगले चुनावलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनको ४८ घण्टा अघिदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागू भइरहेको विज्ञप्तिमार्फत् स्मरण गराएको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा आज जारी विज्ञप्तिमा यस अवधिमा चुनाव प्रचारप्रसार लगायत कुनै पनि प्रकारका बैठक, छलफल, अन्तरक्रिया, सभा गर्न नपाइने उल्लेख छ ।