विराटनगर । बलात्कारको आरोपमा प्रहरीले नेकपा (एमाले)को भातृ संगठन राष्ट्रिय युवा संघ, नेपाल बेलबारी नगर कमिटी अध्यक्ष काशीराज तामाङलाई पक्राउ गरेको छ ।
मोरङको बेलबारी नगरपालिका-१० घर भएका ३४ वर्षीय तामाङलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । एक २० वर्षीया युवतीले किटानी जाहेरी दिएपछि पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिनुभयाे ।
युवतीले दिएको जाहेरीमा असार २ गते बलात्कार गरेको भन्ने उल्लेख छ । तामाङविरुद्ध साउन २४ गते किटानी जाहेरी परेको थियो । तामाङ पोललाइट रेस्टुरेन्टमा सञ्चालक पनि रहेकाे प्रहरीले बताएकाे हाे । सोही रेष्टुरेन्टमा बोलाएर बलात्कार गरेको उजुरीमा उल्लेख छ ।
तामाङविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान सुरु गरिएको डीएसपी दाहालले बताउनुभयाे ।
onlinekhabar