लुम्बिनी । लुम्बिनीमा विश्व बौद्ध संस्कृति प्रदर्शनी सुरु भएको छ। बौद्ध दर्शन र संस्कृतिका प्रवर्द्धन गर्ने उद्देश्यसहित शुक्रबार प्रदर्शनी सुरु भएको हो।
लुम्बिनी बौद्ध विश्वविद्यालय, लुम्बिनी विकास कोष तथा बेल्ड एण्ड रोड इनिसेटिभको संयुक्त आयोजनामा भएको बौद्ध संस्कृति सम्मलेन तथा बिआरआईको १० औं वार्षिकोत्सवको उद्घाटन समारोहमा बोल्दै बेल्ड एण्ड रोडको अवधारणाले बौद्ध संस्कृति प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुर्याउने बताउनुभयाे। चिनियाँ बौद्ध भिक्षुयात्रीहरू फाइयान तथा ह्वेन साङले यात्रा गरेको क्षेत्रमा सिल्क रोडको विकास अवधारणा बनेको वक्ताहरूले बताउनुभयाे।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री सुशीला श्रीपालीले बौद्ध पुरातत्व तथा स्थलसहित संस्कृतिको विकासमा चिनियाँ यात्रीहरूको ऐतिहासिक भूमिका रहेको भन्दै त्यो रुटको विकासले नेपाल, चीन तथा भारतको बौद्ध संस्कृतिलाई जोड्ने बताउनुभयाे।
उहाँले बिआरआईले नेपालको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयाे। ‘प्रधानमन्त्रीज्यूको भर्खरको चीन भ्रमणमा पनि बिआरआई कार्यान्वयनमा जोड दिइएको छ, उहाँले भन्नुभयाे,–‘व्यापार, देशहरूबीच साझेदारी तथा बौद्ध संस्कृतिको विकासमा यो परियोजना महत्वपूर्ण हुनेछ।’
तीन संस्थाको आयोजनामा भएको बौद्ध संस्कृति प्रदर्शनीले लुम्बिनीबाट उद्गम भएको बौद्ध दर्शनको प्रवर्द्धनमा टेवा पुग्ने बताउनुभयाे। बिआरआईले १० औं वार्षिकोत्सवको अवसरमा लुम्बिनीमा कार्यालय स्थापना समेत भएको छ।
चीनको यो महत्वपूर्ण परियोजनामा नेपालले सन् २०१७ मे १२ मा हस्ताक्षर गरेको थियो। क्षेत्रीय एकीकरणमा सुधार गर्दै रेल्वे, सडक, पूर्वाधार विकासमा साझेदारी गर्ने योजना यो परियोजनाको छ।