विज्ञहरुले महिला सशक्तिकरणको अभियानलाई प्रभावकारी बनाउन नीति निर्माण तहमा नै दबाब दिनुपर्ने आवश्यकता औंल्याएका छन् ।
राजनीतिक विश्लेषक हरि शर्मा, अर्थविद् डा विना प्रधान र सञ्चारकर्मी आरती चटौतले महिला सशक्तिकरणमा पुरातनवादी सोच नै समस्याको रुपमा रहेको तर्क गर्दै त्यसलाई निस्तेज पारेर अघि बढ्न नीति निर्माणको तहमा पुग्नेगरी दबाब आन्दोलन आवश्यक रहेको बताउनुभएको हो । ललितपुरमा भएको फेमिनिष्ट, जेण्डर, एण्ड इन्टरसेक्सनालिटी पर्सपेक्टिभस फ्रोम पोलिसी टु प्राक्टिस विषयक कार्यक्रममा बोल्दै राजनीतिक विश्लेषक शर्माले महिला सशक्तिकरणको अभियानलाई सामाजिक सञ्जालले समेत अझेलमा पार्ने प्रयास गरेकाले त्यसबाट जोगिन पनि यो अभियानलाई प्रभावकारी बनाउन नीतिगत क्षेत्रमा प्रभाव पार्ने गरी राजनीतिक क्षेत्रमा दबाब दिन ढिलाई गर्न नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘महिला सशक्तिकरणका लागि प्रश्न गर्न सक्नुपर्यो । सिक्नु पनि पर्यो । त्यसको निम्ति सामाजिक आन्दोेलनको धेरै ठूलो भुमिका छ । अर्कोे पक्ष नेपालको र बाहिरतिर पनि के छ भने समाज कताकर्ता कन्जरभेटिभ हुँदै गएको छ । महिलाहरुको सन्दर्भको कुरा गर्दा तिज यति भड्किलो भएको छ । व्रतको कुरा यति पब्लिकमा आएको छ । धर्म व्यक्तिगत रोजाईको विषय भएपनि यसलाई सामाजिक सञ्जालले धेरै महत्व दिएको छ । परम्परावादी कुराले महिला सशक्तिकरणमा पनि डरलाग्दो अवस्था आएको छ । महिला सशक्तिकरणका लागि पोलिसी र पोलिटिक्सलाई लिंक गर्नुपर्यो । हाम्रो मुखमा पट्टी बाँध्ने प्रयास हुन्छ । चनाखो रहनुपर्यो ।’

अर्थविद् डा. विना प्रधानले कार्यालयमा पाउने तलवबाट नै महिलाहरुमाथि विभेद हुने गरेको बताउनु भयो । सबै प्रकारको विभेद अन्त्य गर्ने परिपार्टीको विकास नभएसम्म महिला सशक्तिकरणको क्षेत्रमा उल्लेख्य प्रगति गर्न नसकिने बताउनु भयो । उहाँले महिलाहरुलाई निर्वाचनको माध्यामबाट राज्यको नीति निर्माण तहमा पुर्याउने कानूनी व्यवस्था भएपनि उनीहरुलाई आर्थिक रुपमा सशक्त नबनाएसम्म सशक्तिकरण अभियानले सार्थक परिणाम नदिने तर्क गर्नुभयो । नेपालमा महिला केन्द्रित नीति भएर पनि आर्थिक क्षेत्रमा पहुँच नभएकाले नेपाली महिलाहरु पछि पर्नुपरेको उहाँको निष्कर्ष थियो ।

अर्थविद् प्रधानले भन्नुभयो, ‘हामी कहाँ अहिले महिला सशक्तिकरणका लागि पोलिसी नभएका होइनन । थुप्रै छन् । बिस्तारै भुमिका पनि परिवर्तन हुँदै गएको छ । हामी कहाँ ३३ प्रतिशत महिलाहरु निर्वाचित हुने गरेका छन् । तर हामी कहाँ अहिले पनि तलवमा विभेद छ महिला र पुरुषमा ।’
कार्यक्रममा बोल्दै सञ्चारकर्मी आरती चटौतले नेपाली मिडियामा पितृसत्तात्मक सोच हाबी भएकाले त्यसले पनि महिला सशक्तिकरणको क्षेत्रमा काम गर्न नसकेको दाबी गर्नुभयो । उहाँले महिलाहरुलाई नियन्त्रणमा राख्न हरेक मिडियामा ९९ प्रतिशत पुरुषहरु रहने हुनाले पनि उनीहरुले महिलाहरुलाई अघि बढाउने खालको सूचना सम्प्रेषण गर्न नसकिने बताउनु भयो ।
सञ्चारकर्मी चटौतले भन्नुभयो, ‘नेपाली मिडियामा एकदमै पितृसत्ता हाबी छ । गहिरो गरिकन हावी छ । त्यतिमात्रै होइन, अर्को कुरा पनि निवेदन गराैँ–जुन यो खुला अर्थनीति हामी भन्छौं हामी । विश्वव्यापीकरणको कुरा गर्छौं, बहुराष्ट्रिय कम्पनीहरुको कुुरा गर्छौं । यसमा उनीहरुको पहुँच जसरी बढिराखेको छ । उनीहरुको टार्गेट के हो त ? मैले भनिरहनु पर्दैन । मिडियाहरुले बिक्री हुने कुरा मात्रै बेचिरहेका छन् । स्क्रिनमा देखिने अनुहारमा बढी महिला हुन्छन् । उनीहरुलाई नियन्त्रणमा राख्न ९९ पर्सेन्ट पुरुषहरु हुन्छन् । यसले महिलाहरुको सशक्तिकरणमा सघाउ पुर्याउँदैन ।’
सञ्चारकर्मी चटौतले बहुराष्ट्रिय कम्पनीहरुको बढावाले पनि नेपालमा महिला अधिकारलाई सुनिश्चित गर्ने कुरामा अवरोध सृजना गर्ने काम गरिरहेको बताउनु भयो ।
—न्युज एजेन्सी नेपाल