पोखरा। पोखरा महानगरपालिका वडा नं – १५ को महिला सशक्तीकरण एवं क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । वडामा रहेका महिला दिदीबहिनीहरूको क्षमता अभिवृद्धि गर्नको लागि डेढ महिनादेखि सुरु हुँदै आएको महिला सशक्तीकरण एवं क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रम सम्पन्न गर्दै वडाले तालिममा सहभागीहरू बिच आजै वक्तृत्वकला प्रतियोगिताको पनि आयोजना गरेको छ। ’सामाजिक रूपान्तरणका लागि महिलाहरूको भूमिका’ विषयक प्रतियोगितामा २१ जना प्रतियोगीले सहभागिता जनाएका थिए। जसमा सानिपाटन आमा समूहकी विनु ढकाल प्रथम हुनुभएकाे छ । भने अनु गैरे द्वितीय, मनु थापा तृतीय र सीता रानाभाट र निर्मला भण्डारीले सान्त्वना प्राप्त गर्नुभएकाे छ। विजेताहरूले क्रमशः ५ हजार, ३ हजार, २ हजार र १–१ हजार प्राप्त गरेका छन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा प्रदेश सांसद भीम कार्कीले मानिसका मन भित्र हज्जारौं तर्कहरू आइरहने तर, जान्ने बुझ्ने व्यक्तिहरूलाई पनि मन भित्रका कुराहरू व्यक्त गर्न कठिन हुने भन्दै यस्ता कार्यक्रमले मन भित्र उब्जिएका हरेक काम कुराहरूलाई अभिव्यक्त गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयाे। उहाँले महिलाहरू शिक्षित भए बालबालिकाले सिक्ने अवसर पाउने र तीनै बालबालिका भविष्यका कर्णधार भएकाले महिलाहरू चेतनशील बने मात्रै समाज सम्भाव्यतामा अगाडी बढ्ने बताउनुभयाे ।
कार्यक्रमका सभाध्यक्ष तथा वडा अध्यक्ष तोरण बानियाँले हामीले लिएको लक्षअनुरूप मानवीय विकासका लागि जबसम्म वडामा रहेका दिदीबहिनीहरूको क्षमता अभिवृद्धि गर्न सकिँदैन, उनीहरूमा सकारात्मकता ल्याउन सकिँदैन तबसम्म हाम्रो लक्षले पनि गति लिन नसक्ने भन्दै पूर्वाधार बाहेक अबको मानवीय विकासका लागि महिलाहरूमा चेतनशीलता र क्षमता अभिवृद्धि गर्नु नै विकासको सुचाङ्क बढ्नु रहेको बताउनुभयाे । उहाँले वडाका जनप्रतिनिधिहरूको साझा छलफलबाट वडावासी महिला दिदीबहिनीहरूको क्षमता अभिवृद्धिका लागि बजेट विनियोजन गरेर यस कार्यक्रमको आयोजना गर्न सफल भएको भन्दै ४५ दिने क्षमता अभिवृद्धि कार्यक्रममा वडाका २९ आमा समूहका २ सय ५७ जनाले सहभागिता जनाएको जानकारी दिनुभयाे ।

यस्तै, कार्यक्रम संयोजक तथा पोखरा महानगरपालिकाकी कार्यपालिका सदस्य मन्दिरा परियारले वडाका धेरै भन्दा धेरै महिला दिदी बहिनीहरूको सहभागिता होस् भनेर ४५ दिनसम्म ३ दिने प्रशिक्षण कार्यक्रम राखिएको बताउनुभयाे । उहाँले दिदी बहिनीहरूको उत्साहजनक सहभागिता रहेको भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयाे ।
वडा नं –१५ का निवर्तमान वडा अध्यक्ष प्रकाश पौडेलले क्षमता अभिवृद्धि तालिममा दिदीबहिनीहरूले सिकेका र जानेका कुराहरूलाई आ–आफ्नो समूहमा गएर छलफल गर्न सके, सिकाई आदानप्रदान गर्न सके सबै जनाले सिक्ने अवसर प्राप्त गर्ने बताउनुभयाे। उहाँले हाम्रो समाजलाई सबै खालको फोहोरबाट मुक्त भएको आदर्श, अनुशासित र संस्कारवान समाज निर्माण गर्नुपर्ने भन्दै त्यो दायित्व र जिम्मेवारी सशक्तीकरण भएका महिला दिदीबहिनीहरुले प्राप्त गरेको र उहाँहरूले नै भूमिका पनि खेल्ने आशा व्यक्त गर्नुभयाे।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै न्यायिक समिति सदस्य तथा पूर्व वडा सदस्य पार्वती कार्कीले ३ दिने महिला क्षमता अभिवृद्धि कार्यक्रमले महिलाहरूमा नेतृत्वदायी भूमिकाको विकास हुने आशा व्यक्त गर्नुभयाे । उहाँले वडाले ल्याएका यस किसिमका कार्यक्रमले वडाको गरिमा बढाएको प्रतिक्रिया दिनुभयाे ।
गत माघ १६ गतेबाट सुरु भएको महिला क्षमता अभिवृद्धि कार्यक्रममा पत्रकार शुष्मा पौडेल र जमुना वर्षा शर्माले प्रशिक्षण दिनुभएकाे थियाे भने, ४५ –४५ जनाको समूह बनाई ३ –३ दिन तालिम सञ्चालन गरिएको थियो ।
बिहिबारको वक्तृत्वकला प्रतियोगिताको निर्णायकमा शङ्कर ज्ञवाली, हसिना बस्नेत र विष्णु पौडेल रहनुभएकाे थियाे भने कार्यक्रमको सञ्चालन वडा सदस्य आशिष भण्डारीले गर्नुभएकाे थियाे ।