काठमाडौं I धनुषाको विदेह नगरपालिका-५ मुरिबा टोलीकी ४० वर्षीया रामपरी देव ठाकुर वडहीको विभत्स हत्या भएको छ। उनको शीरछेदन गरिएको शव घरदेखि डेढ किलोमिटर टाढा शिवनारायण मण्डलको खेतमा फेला परेको हो। टाउको भने कमला नदीको नहरमा भेटिएको छ।
रामपरीको नग्न शरीर घटनास्थलमा भेटिनुका साथै शरीर र टाउकोभन्दा केही पर रगतको खोल्सा देखिएको छ। प्रारम्भिक अनुसन्धान अनुसार धारिलो हतियारले घाँटी छिनाएर उनको हत्या गरिएको धनुषा प्रहरीले जानकारी दिएको छ।
मृतकका कान्छो छोराका अनुसार मङ्गलबार अपराह्न घाँस काट्न घरबाट निस्किएकी रामपरी रातभर घर नफर्किएपछि खोजी सुरु गरिएको थियो। बुधबार बिहान उनको शव विभत्स अवस्थामा फेला परेको हो।
घटनामा संलग्न भएको आशंकामा प्रहरीले तीनजनालाई नियन्त्रणमा लिएको थियो। हाल एक जनालाई मात्र हिरासतमा राखेर थप अनुसन्धान भइरहेको धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिएका छन्।
मृतकका श्रीमान लामो समयदेखि वैदेशिक रोजगारीमा रहेका छन्। घटनाले स्थानियबासीमा त्रास फैलाएको छ भने पीडित परिवार न्यायको अपेक्षामा छ।
धनुषा प्रहरीले घटनाको विस्तृत अनुसन्धान जारी राखेको र दोषीलाई कानूनी कारबाही गरिने प्रतिवद्धता जनाएको छ।