काठमाडौं । वैदेशिक रोजगारीको नाममा ठगी गर्ने एक महिला काठमाडौंबाट पक्राउ परेकी छन्। ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–४ स्थायी घर भई हाल भक्तपुरको मध्यपुर ठिमी बस्ने २४ वर्षीया नवीना दाहाललाई प्रहरीले पक्राउ गरेको हो।
दाहालले आकर्षक तलबको प्रलोभन देखाउँदै न्युजिल्यान्ड पठाइदिने बहानामा एक व्यक्तिबाट एक लाख रुपैयाँ असुल गरी सम्पर्कविहीन भएको आरोपमा पक्राउ परेकी हुन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार उनलाई सिनामङ्गल क्षेत्रबाट पक्राउ गरी थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ।
प्रहरीले वैदेशिक रोजगारीको नाममा ठगीका घटना बढ्दै गइरहेको भन्दै सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ।