काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा झापा क्षेत्र नं १ का सांसद विश्वप्रकाश शर्माले जंगली हात्ती नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गरानुभएकाे छ ।
प्रतिनिधि सभामा बोल्ने क्रममा महामन्त्री शर्माले जंगली हात्तीको आतंक नियन्त्रण गर्नका लागि दीर्घकालीन हल खोज्न सरकारसँग आग्रह गर्नुभयाे । झापाको बुद्ध शान्ति गाउँपालिकामा एक वर्षमा जंगली हात्तीका कारणले तीन जनाको ज्यान गएको तथ्य सुनाउनुभयाे ।
‘समस्या वर्षौंदेखि छ, तर आकस्मिक समयमा यसकारण उठाएको हुँ, किनकी ताजा घटना भर्खर भएको छ र यहि बेला सरकार आगामी बजेटको नीति निर्माणको क्रममा छ,’ शर्माले भन्नुभयाे ।
सीमा पारीबाट हात्ती प्रवेश गर्ने मेची नदीको किनारमा तटबन्ध निर्माण गर्ने बजेट छुट्याउन उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयाे । झापा १ का नागरिकलाई दुई प्रकारका जंगली हात्तीले आतंकित बनाएको शर्माले बताउनुभयाे । पहिलो, खुला सिमाना भएको हुँदा भारत पश्चिम बंगालबाट हुलका हुल भित्रिने हात्तीबाट र दोस्रो स्थानीय जंगलमा रहेका रैथाने हात्तीबाट।’