विराटनगर । सोमबार बिहान लेटाङबाट साइकलमा आफ्नो घर बेलबारी नगरपालिका-१० भाउन्नतर्फ फर्किँदै गर्दा स्थानीय ५३ वर्षका कमल माझीको जंगली हात्तीको आक्रमणबाट घटनास्थलमै मृत्यु भयो । १५ मंसिरमा झापाको हल्दिबारी गाउँपालिका–३ को रणकाली सामुदायिक वनका चौकीदार ४० वर्षीय धनबहादुर बनलाई ड्युटीमै रहेका बेला जंगली हात्तीले कुल्चिएर मार्यो । १३ मंसिरमा हात्तीको आक्रमणबाट सुनसरीको इटहरी उपमहानगरपालिका– २ का रविन खड्काको मृत्यु भयो । राति वनबाट बस्ती प्रवेश गरेको हात्तीले आक्रमण गर्दा उहाँको घटनास्थलमै मृत्यु भएको थियो । ५ मंसिरमा झापा दमकको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरका ७२ वर्षीय पदमलाल तामाङको हात्तीको आक्रमणबाट मृत्यु भएको थियो । विराटनगरस्थित कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार तीन जिल्लामा पछिल्लो १५ दिनमा हात्तीको आक्रमणबाट चार जनाको मृत्यु भएको छ ।
बथानसहित आउने हात्तीले बस्ती आसपास आतंक सिर्जना गर्ने गरेको उहाँको भनाइ छ । यस्ता हात्तीले किसानले लगाएको बाली नष्ट गरिरहेको छ भने भौतिक संरचनामा पनि क्षति पुर्याइरहेको छ । मोरङको बेलबारी, भाउन्ने, मंगलबारे, कानेपोखरी जंगल आसपासको क्षेत्रमा हात्तीका बथान देखिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी रञ्जन दाहालले बताउनुभयाे । २४–२५ वटा हात्तीको बथान बस्ती छेउछाउ देखिने गरेका छन् । बस्तीमा पसेर किसानको बालीमा क्षति पुर्याउन थालेपछि प्रहरीले स्थानीयसँगको सहकार्यमा गस्ती गरिरहेको उहाँले बताउनुभयाे । हात्ती आएको सर्वसाधारणलाई जानकारी दिन र सम्भावित दुर्घटना र क्षति रोक्नका लागि गस्ती गरेको डीएसपी दाहालले बताउनुभयाे । वन क्षेत्रबाट बस्तीमा पस्न खोज्ने हात्ती धपाउन सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र वन सुरक्षाको टोली साइरनसहित खटिएको छ ।
हात्तीको आगमन बाक्लिएपछि बेलबारीको बेलबारी चिसाङ साझेदारी वन उपभोक्ता समूहले घाँस दाउरा गर्नका लागि जंगल नजान सर्वसाधारणलाई आग्रह गरेको छ । कात्तिक अन्तिम साता पूर्वी नाका बाहुनडागी हुँदै भारतबाट नेपाल छिरेका हात्ती पछिल्लो समय मोरङ र सुनसरीको वन क्षेत्रमा देखिएका छन् । भारत हुँदै झापाको बाहुनडाँगीबाट प्रवेश गरेको हात्तीको बथान हुम्सेदुम्से हुँदै मोरङको उर्लाबारी, लेटाङ, मिक्लाजुङ, बेलबारी, कानेपोखरी, केराबारी, पथरी क्षेत्रमा आएको छ । सुनसरीको तरहरा र कोशी टप्पु क्षेत्रमा पनि जंगली हात्तीको बथान देखिएको छ । हात्ती विज्ञ डा। अशोक रामका अनुसार आहारा खोज्दै जंगलबाट निस्किने हात्ती बस्ती पस्दा जोखिम हुन्छ । मानवीय असावधानीकै कारण हात्तीको आक्रमणमा सर्वसाधारण परिरहेको उहाँले बताउनुभयाे ।
उहाँका अनुसार भारत हुँदै बाहुडाँगीबाट कोशी टप्पुसम्म हात्तीहरु धेरै पहिले देखि नै आवतजावत गर्थे । ‘पहिले धेरै वन थियो, चारकोसे झाडी थियो र हात्ती आएको जानकारी हुँदैनथ्यो’, उहाँले भन्नुभयाे, ‘हात्तीको बासस्थानको अतिक्रमण, खानेकुराको अभाव भयो, हात्ती हिँड्ने बाटोको अतिक्रण भयो ।’ भारतबाट कात्तिक–मंसिर र जेठ–असारको समयमा हात्तीहरु नेपाल प्रवेश गर्ने देखिएको छ । हात्तीविज्ञ रामका अनुसार यो समय प्रजननको बेला पनि भएका कारण भाले हात्ती धेरै आक्रामक हुन्छन् । पछिल्ला केही वर्षयता मेची खोला तरेर भारतबाट ठूलो बथान नेपाल आएको थिएन । ‘फाट्टफुट्ट आएका हात्ती पनि चुलाचुली, माइखोलासम्म आएर फर्किएका थिए’, उहाँले भन्नुभयाे, ‘यसपालि असार ताका एउटा ग्रुप कोसी नदीसम्म आयो, अहिले फेरि देखिएको छ ।’ हात्तीविज्ञ रामका अनुसार सन् १९७४ मा भारतबाट ठूलो बथान नेपाल आएको थियो । त्यतिबेला ठूलो प्रयास गरेर उक्त बथानलाई भारत नै फर्काइएको थियो । बथानमा आएका हात्ती लखेट्न खोज्दा धेरै दुर्घटना भएको उनले बताए । ‘सुरुमा लखेट्छन्, जोस देखाउँछन्, जब हात्तीले चार्ज गर्छ त्यसबेला भाग्न सक्दैनन्’, उहाँले भन्नुभयाे, ‘हाम्रोमा जनचेतनाको अभाव पनि छ । जुन क्षेत्रमा हात्ती देखिएका छन् त्यो क्षेत्रमा जनचेतना जगाउनुपर्छ ।’