झापा । झापाको भद्रपुरमा बुधबार बिहान एउटा जंगली हात्ती मृत फेला परेको छ। भद्रपुर-२ स्थित कमलधाप रामपोखरी सामुदायिक वन कार्यालय नजिकै गहिरो नालीमा डुबेको अवस्थामा हात्ती मृत भेटिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयाे।
स्थानीयले हात्ती मृत देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए। हात्ती मृत फेला परेपछि प्रहरी कार्यालय झापाका एसपी दुर्गाराज रेग्मी र डीएसपी रिजाल घटनास्थल पुग्नुभएकाे थियाे।
'वयस्क हात्ती चौडाइ कम भएको गहिरो नालीमा फसेको देखियो', डीएसपी रिजालले भन्नुभयाे, ''नालीबाट निस्किन हात्तीले निक्कै प्रयास गरेको देखिन्छ, अगाडिको खुट्टा हिलोपानीमा दबेकोले निस्किन सकेन, र त्यहाँ नै मृत्यु भयो।''
घटनास्थलमा प्रहरी र डिभिजन वन कार्यालय झापाका टोली पुगिसकेको उहाँले बताउनुभयाे । कोशी टप्पु वन्यजन्तु आरक्षबाट चिकित्सकको टोली आइरहेको छ। ''घोप्टो परेकै अवस्थामा हात्ती छ, त्यसलाई चलाइएको छैन, डिभिजन वन कार्यालय झापाकी सूचना अधिकारी अञ्जना पुरीले भन्नुभयाे, ''चिकित्सकको टोली आएपछि पोस्टमार्टम गरिन्छ, अनि मात्र के कारणले हात्तीको मृत्यु भयो भन्ने खुल्छ।''झापामा अहिलेसम्म यो लगायत १८ हात्तीको मृत्यु भइसकेको छ।
annapurnapost