वासिङटन डिसी । चिनियाँ राष्ट्रपति सी चिनफिङ र युक्रेनका राष्ट्रप्रमुख भोलोदिमिर जेलेन्स्कीबीच रूस र युक्रेनबीचको युद्ध अन्त्यको सम्भावनाबारे छलफल गर्न बुधबार भएको टेलिफोन वार्ताको ह्वाइट हाउसले प्रशंसा गरेको छ।
ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले भन्नुभयाे, 'राष्ट्रपति सी र जेलेन्स्कीबीच फोन वार्ता भएको खबरको हामी स्वागत गर्दछौं। यो राम्रो कुरा हो। अब यसले कुनै अर्थपूर्ण शान्ति अभियान वा योजना वा प्रस्तावको नेतृत्व गर्नेछ कि छैन भन्ने अझै सुनिश्चित भइनसकेको हाम्रो बुझाई छ। हामी यो युद्ध अन्त्य होस् भन्ने चाहन्छौँ। हामीले लामो समयदेखि यही कुरा भन्दै आएका छौं।'
रूसले युक्रेनबाट आफ्ना सेना फिर्ता बोलाए युद्ध ‘तत्काल’ अन्त्य हुन सक्ने उहाँले बताउनुभयाे। किर्बीले भन्नुभयाे, 'न्याय र दिगो शान्ति हुन सक्छ र विश्वसनीय आधार सिर्जना हुन सक्छ भने शान्तिमा पुग्ने कुनै पनि प्रयासको हामी स्वागत गर्दछौं।'
'हाम्रो विचारमा, युक्रेनी नागरिक र राष्ट्रपति जेलेन्स्कीले यसमा सहभागिता नजनाउँदासम्म वा शान्तिवार्ताका लागि समर्थन नगरेसम्म शान्तिको विषयले दिगो वा विश्वसनीय सार्थकता पाउनेछैन,' उहाँले भन्नुभयाे।
रासस