नेपाली काँग्रेसकी सचेतक सुशीला थिङले सहकारी ठगी प्रकरणमा काँग्रेस पछि नहटेको बताउनुभएको छ । सोमवार संसद भवन परिसरमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । आफ्ना मागहरु यथावत राखेर सरकारलाई समय दिएको उहाँको भनाइ छ । उहाँले सदनमा आएका धेरै विधेयकहरुलाई असर पर्नेगरी काँग्रेस जस्तो पार्टीले अवरुद्ध गरेर जानु हुँदैन भन्ने भावले मात्रै संसद सुचारु भइरहेको बताउनु भयो । उहाँले सरकारले आफ्ना माग र धारणाहरुमा जवाफदेही नबनेको दिन खरो रुपमा उत्रिने बताउनु भयो । उहाँले काँग्रेस जस्तो पार्टीले विधेयकलाई नै अलपत्र पारेर सदन महिनौ दिनसम्म संसद अवरुद्ध गर्न नमिल्ने बताउनु भयो । दिएको समयसम्म पनि सरकारले बेवास्ता गरेको खण्डमा बाध्य भएर संसद अवरुद्ध पार्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हाम्रो मागमा ब्याक भएको भन्न मिल्दैन । हामीले त सरकारलाई केही समय दिएका हौ । हामीले हाम्रो कुराहरु यथावत उठाइराखेका छौं । दैनिक उठाएर सदनमा आएका धेरै विधेयकहरुलाई असर पर्नेगरी काँग्रेस जस्तो पार्टीले अवरुद्ध गरेर जानुहुँदैन । परेको दिनमा कुन बेला, कतिखेर सरकारले साह्रै नै हाम्रो कुरालाई बेवास्ता गर्यो भने मात्रै हामी घेर्ने तयारीमा छौं । हामी ब्याक भएको होइन । सरकारलाई समय दिएको मात्रै हो । यो विधेयकलाई अगाडि बढाउनका लागि सहयोग गरेको हो । काँग्रेस जस्तो पार्टीले विधेयकलाई नै अलपत्र पारेर सदन महिनौ दिन अवरुद्ध पारेर जानुहुँदैन भनेर हामीले विधेयकलाई सहयोग मात्रै गर्न खोजेको हो । हामीले सरकारलाई दिएको समयमा पनि बेवास्ता गर्यो भने हामीले बाध्य भएर सदन अवरुद्ध गर्नेछौँ । त्यो अवस्था सरकारले नबनोओस् सरकारलाई समय दिएको मात्रै हो । अब पनि संसद अवरुद्ध पार्न बाध्य पारियो भने त्यसको जवाफ सरकार आफैंले दिनुपर्छ ।’
उहाँले बजेट विगतको परिपाटी भन्दा फरक तरिकाले ल्याइनुपर्ने बताउनु भयो । उहाँले संघीय बजेट ३ करोड भन्दा कमको बनाउनु नहुने बताउनु भयो । पार्टीका कार्यकर्तालाई भर्ती गर्ने ठाउँमा झैँ टुक्रे बजेट ल्याउनु नहुने बताउनु भयो ।
—न्युज एजेन्सी नेपाल