काठमाडौं । काठमाडौं उपत्यकामा बिहान परेको पानीले प्रदूषण घटाएको छ । बिहानसम्म काठमाडौं विश्वकै प्रदूषित शहरको पहिलो सूचीमा परेकोमा अहिले १४औं नम्बरमा झरेको छ । देशका विभिन्न ठाउँमा हिजोदेखि परेको पानीले प्रदूषण घटाएको छ । हिजो अस्तिको तुलनामा वायु प्रदूषण निकै कम भएको छ ।
हावाहुरीसँगै परेको पानीले वायुमण्डलमा धेरै दिनदेखि थुप्रिएको घातक प्रदूषण घटाउन सहयोग पुगेको मौसमविद्ले बताएका छन् ।
वायुको गुणस्तर मापन गर्ने एअर क्वालिटी इन्डेक्सका अनुसार अहिले काठमाडौंको समग्र वायु गुणस्तर सूचकाङ्क(एक्यूआई) ११२ रहेको छ । आज बिहान एक्यूआई १९० भन्दा माथि थियो । लामो समयसम्म वर्षा नहुँदा काठमाण्डौको एक्यूआई झन्डै ३ सयभन्दा माथि पुगेको थियो ।एक्यूआई शून्यदेखि ५० सम्म राम्रो, ५१ देखि एक सयसम्मको एक्यूआईलाई सचेत हुनुपर्ने, १०१ देखि १५० सम्मलाई अस्वस्थ, १५१ देखि २०० सम्मको एक्यूआईलाई झन् अस्वस्थ, २०१ देखि ३०० लाई धेरै अस्वस्थ र ३०१ देखि माथिको एक्यूआईलाई खतरनाक मानिन्छ ।
आज र भोलि देशका धेरै ठाउँमा पानी पर्ने र रोकिने क्रम चलिरहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हिमाली भेगमा हिमपातको पनि सम्भावना छ ।