काठमाडौं । देशका विभिन्न ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा भएको छ । काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा अहिले पनि पानी परिरहेको छ । उपत्यकाको प्रदूषण केही घटे पनि अझै अस्वस्थकर अवस्थामै रहेको छ । हावाको गुणस्तर मापन सूचक एक्यूआई एक सय ५० भन्दा माथि गएमा सबैका लागि अस्वस्थ हुनेमा अहिले काठमाडौंको एक्यूआई एक सय ९० भन्दा माथि छ ।
पश्चिमको तुलनामा मध्य र पूर्वी भेगमा पानी केही बढी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार आज र भोलि देशका सबैजसो प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार यही चैत ९ र १० गते देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएकामा त्यसपछि पर्याप्त वर्षा हुन सकेको छैन ।यस्तै हिमाली भेगमा हिमपात हुने महाशाखाले जनाएको छ । सुदूरपश्चिमसहितका केही ठाउँमा हावाहुरीको समेत सम्भावना रहेकाले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
अहिलेको वर्षाले प्रदूषण केही घट्न सक्ने मौसमविदले बताएका छन् । गएको मनसुनपछि नेपालमा राम्ररी वर्षा हुन सकेको छैन ।पश्चिमी वायुको प्रभाव ज्यादै कमजोर रहेकाले विगत लामो समयदेखि देशभर पर्याप्त वर्षा नभएको तथा तापक्रममा वृद्धि हुँदा वायुमण्डल सुक्खा रहेको विभागकी प्रवक्ता विभूती पोखरेलले बताउनुभयो ।
त्यसैले तुवाँलोको प्रभावले वायुमण्डलको पारदर्शितासमेत न्यून हुन गई हालको वायु प्रदूषणलाई थप जोखिमयुक्त अवस्थामा पुर्याउन भूमिका खेलेको उहाँले बताउनुभयो ।अहिले ठूलो वर्षा नहुने र देशभरको मौसममा अपेक्षित सुधार हुने अवस्था नदेखिएकाले मौसमसम्बन्धी जानकारी अद्यावधिक गरिरहन तथा आवश्यक सतर्कता अपनाउन विभागले सबैमा अपिल गरेको छ ।
