सूचना माग गर्दै रौतहटको वृन्दावन नगरपालिका आगाडि २४ घण्टे रिले अनसन बसेको एक महिना ७ दिन पुगेको छ । निर्वाचित चारजना वडा अध्यक्ष र तीनजना मेयर प्रत्यासी रिले अनसनमा बस्नुभएकाे छ ।
तीनजना नेकपा माओवादीबाट,एकजना नेकपा एमालेबाट बिजयी वडा अध्यक्षहरू अनसनमा बस्नुभएकाे हाे। साथै नेपाली कांग्रेस,नेकपा एमाले, नेकपा माओवादी केन्द्रबाट मेयर पदका उम्मेदवारहरू रिले अनसनमा बस्नुभएकाे हाे।
माग गरे बमोजिमको १४ बुँदे सूचना उपलब्ध गराउन नगरपालिकाको तर्फबाट कुनै पहल नभएको अनसनकारीले गुनासो गर्नुभएकाे छ । जनताहरूले मागेको सूचना दिन आलटाल गर्नुको साथै कार्यपालिका बैठकमा पनि नगर प्रमुख विनोद राउत कुर्मीले चित्तबुझ्दो जवाफ नदिएपछि रिले अनसन बसेको वडा नम्बर ४ का वडा अध्यक्ष श्यामप्रसाद यादवले बताउनुभयाे ।
वृन्दावन नगरपालिका कार्यालय आगाडि अनसन बसिरहेका जनप्रतिनिधि तथा दलका नेताहरूसँग आफूले भेटेर काम गर्ने वातावरण बनाइ दिन अनुरोध गरेको प्रमुख प्रशासकीय अधिकृत ओमप्रसाद पाण्डेले बताउनुभयाे ।
नगर प्रमुख कुर्मी तथा अनसनकारीबीच वार्ता हुने अवस्था नभएपछि प्रमुख प्रशासकीय अधिकृत पाण्डेले दुबै पक्षलाई जनताको काममा सहजता प्रदान गर्न आग्रह गर्नुभएकाे छ ।
पहिलेका प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर भुजेललाई भ्रष्टाचार गरेको तथा अनसनकारीलगायतका सरोकारवालासँग समन्वय नगरेको आरोप लागेपछि मन्त्रालयले उहाँलाई सरुवा गरेको थियो ।
पाण्डे हाजिर भएकै दिन अनसनकारीलाई भेटी सबै सूचना दिन्छु भन्दै प्रतिबद्धता समेत गर्नुभएकाे थियाे । तर, सूचना नपाएको नेकपा एमालेका नेता तथा नगर प्रमुख पदका उम्मेदवार प्रेमशंकर यादवले आरोप लगाउनुभएकाे छ ।
रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र आगाडि प्रमुख प्रशासकीय अधिकृत पाण्डेयले भनेको कुरा अहिले फेरेको यादवको भनाइ छ ।
पूर्वनगर प्रमुख रामस्नेही यादवले नगरप्रमुख कुर्मीमा नैतिकता नरहेको ,आफूले जे बोल्दैछु त्यही सही हो, आफूलाई राजा ठान्नेले थोरै समयमा धेरै भ्रष्टाचार गरेको आरोप लगाउनुभएकाे छ ।
नगरप्रमुख कुर्मीले भने भ्रष्टाचार गर्ने व्यक्तिहरू आफूलाई चोखो बताउन रिले अनसन बसेको आरोप लगाउनुभयाे । सूचना अधिकारीमार्फत् सूचना लिएर पनि रिले अनसन जारी राखेकोमा दु:ख व्यक्त गर्दै नगर प्रमुख कुर्मीले विकास निर्माण तथा नदीजन्य वस्तुको राजश्व संकलन हुने समयमा रिले अनसन गरेर विपक्षीले दु:ख दिने मनसाय राखेको बताउनुभयाे ।
चैत्र ७ गते देखि वृन्दावन नगरपालिका वडा नम्बर २,३,४ र ५ का गरी ४ जना वडा अध्यक्ष र नगर प्रमुख पदका तीनजना उम्मेदवार रिले अनसनमा हुनुहुन्छ।
annapurnapost