नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्ने स्पोर्टस् अवार्ड अन्तर्गतको पिपल्स च्वाइस अवार्ड भलिबल खेलाडी उषा भण्डारीले जित्नुभएकाे छ । क्रिकेटमा आसिफ शेख, टेनिसकी अभिलाष विष्ट, फुटबलका अञ्जन विष्ट, पौडीकी डुवाना लामालाई पछि पार्द भण्डारीले अवार्ड हात पार्नुभएकाे हाे ।
भोटिङका आधारमा विजेता चयन गरिएको यो विधमा उहाँले कुल ३८ प्रतिशत भोट पाउनुभयाे । विजेता छनोटका लागि इसेवाबाट आउने भोटिङको मतभार ५० प्रतिशत, एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको आधिकारिक फेसबुक पेजमा गरिने भोटिङको मतभार २५ प्रतिशत र राष्ट्रिय प्रशिक्षकको मतभार १२।५ प्रतिशत र खेलकुद पत्रकारले गर्ने भोटिङको मतभार पनि १२।५ प्रतिशत थियो ।
यो सबैबाट मिलाउँदा उहाँले ३८।०८ प्रतिशत मत पाउनुभएकाे थियाे । मनोनयनमा परेका अञ्जन विष्टले ३१।१४ प्रतिशत, आसिफ शेखले १४।९९ प्रतिशत, अभिलाषा विष्टले ८।३२ प्रतिशत र डुवान लामाले ७।५० प्रतिशत मत पाउनुभयाे ।
प्रतिभा मालीपछि नेपाली महिला भलिबलले पाएको भरपर्दो ओपन स्पाइकर बन्नुभएकी उषाले १३ औं सागमा डेब्यू गरेयता पछाडि फर्केर हेर्नुपरेको छैन ।
१८ वर्षको उमेरमा उहाँ आफ्नो क्लब नेपाल पुलिसकी प्रमुख खेलाडी बनिसक्नुभएकाे छ भने राष्ट्रिय टिमको नियमित सदस्य । पछिल्लो दुई वर्ष माल्दिभ्समा क्लब भलिबल प्रतियोगिता खेलेर आफूलाई थप अनुभवी बनाइसक्नुभएकाे छ ।
यसकै आधारमा उहाँ यो अवार्डको मनोनयनमा पर्नुभएकाे थियाे । उहाँलाई समर्थकले पनि मन पराएर भोट गरे र उहाँले यो अवार्ड जित्नुभयाे ।
onlinekhabar