त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनौट प्रक्रियाको विषयलाई लिएर सांसदहरुले असन्तुष्टि जनाएका छन् । सोमवार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै सांसदहरुले त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनौट प्रक्रिया गलत भएको बताएका हुन् । उनीहरुले छनौट प्रक्रिया गलत भएको भन्दै तिब्र असन्तुष्टि व्यक्त गरेका छन् । सांसदहरुले उपकुलपति छनौटको प्रक्रियालाई खारेज गर्दै नयाँ प्रक्रिया आरम्भ गर्न माग समेत गरेका छन् । बैठकमा बोल्दै नेकपा(एमाले) कि सांसद विद्या भट्टराईले विभिन्न आरोपका आरोपितहरुले आवेदन दिएको भन्दै उनीहरुको योग्यतामाथि प्रश्न उठाउनुपर्ने बताउनु भयो । उहाँले आरोपितहरुको आवेदन स्वीकार गर्दा छनौट प्रक्रियामाथि प्रश्न उठेको बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘हामी मेरिटोक्रेसीको कुरा गर्छौं भने टियुको भिसी भनेको एकेडेमिक लिडरशिप हो । अनि एकेडेमिक लिडरशिपमा बसेकाहरुले जब आफुले अप्लाइ गर्दाखेरी सिफारिस समितिले एकेडेमिक लिडरशिपलाई चयन गरिरहँदा आज आरोपित मान्छेहरुलाई नै अप्लाइ गर्न ठाउँ दिन्छौँ भने नैतिकताको प्रश्न कहाँ रहन्छ भन्नेकुरा हो । प्रश्न उठ्छ भने त्यसलाई करेक्शन गर्नका लागि ठाउँ दिनुपर्यो । त्यस्तो संयन्त्र बनाउनु पर्यो । त्यो त छैन । आरोप लागेकाहरुले त्यहाँ गएर अप्लाइ गर्न पाउने कुरा जबसम्म रहन्छ, त्यो मेरिटोक्रेसी हुने कि नहुने ?’
त्यस्तै नेकपा(एमाले)की सांसद सरिता भुसालले उपकुलपति छनौटका लागि सक्षम व्यक्तिको खोजतलास नगरिएको बताउनु भयो । उहाँले विदेश पलायन भइरहेका विद्यार्थीहरुलाई रोक्ने विचार भएका व्यक्ति उपकुलपति बन्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘जति जनाको निवेदन आएको छ के उहाँहरु मात्रै सक्षम हुनुहुन्छ जस्तो लाग्छ त ? यसमा अनुभवको आधारमा, कार्यदक्षताको आधारमा पनि त गर्न सक्नुहुन्थ्यो । सक्षम व्यक्तिको खोज तलास गरिएन । हजारौँ संख्यामा विद्यार्थीहरु बाहिरिएका छन्, बाहिर पलायन भएका विद्यार्थीहरुलाई कसरी रोक्ने भन्ने खालको विचार भएको व्यक्ति उपकुलपतिमा आउनुपथ्र्यो । त्यसमा कसरी हेरिराख्नुभएको छ ?’
नेपाली काँग्रेसका सांसद बद्री पाण्डेले सिफारिस समितिले गलत बाटो समातेको बताउनु भयो । उहाँले सिफारिस समिति उपकुलपतिको छनौटका लागि लोकसेवाको प्रक्रियाजस्तै गरी अगाडी बढिसकेको भन्दै कसैले पनि उस्तो, उस्तो गर्नुस् भनेर निर्देशन दिन नमिल्ने बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘यो सिफारिस समिति अब कहाँ गइसक्यो भने अब ब्युरोक्रेसीतिर गइसक्यो । मापदण्ड बनाएको छ । मापदण्ड अनुसारको व्यक्तिको योग्यता छ कि छैन ? त्यसले कति नम्बर ल्याउँछ ? लगायतका कुरा शिलबन्दीको रुपमा गइसक्यो । लोकसेवाको सिस्टममा गइसक्यो मेरो विचारमा । १४ जना ल्याउने सन्दर्भमा उहाँहरुले कति फियर गर्नुभएको छ ? भन्ने कुरा हामीले सोध्ने कुरा मात्रै हो । तपाईहरु यसो गर्नुुस् भन्ने कुरा होइन । उसको योग्यताको मापन त मापदण्डले गरिसकेपछि हामीले कसरी भन्न सक्छौँ ? हामीले हस्तक्षेप गर्न सक्दैनौँ । सिफारिस समितिले गतल बाटो लिइसक्यो मेरो विचारमा । अधिकतम विवेक प्रयोग गर्ने बाटोबाट व्युरोक्रेटिक बाटो, जडताको बाटो, अंकगणितिय बाटोमा गइसकेपछि हामीले भन्न सक्दैनौँ तपाईले यो कसरी गर्नुभयो ?’
राष्ट्रिय प्रजातन्त्र पार्टीकि सांसद विना जैसवालले विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप गर्नु नहुने धारणा राख्नुभयो । उहाँले अनुभव र ज्ञान भएको मान्छेलाई राज्यको उच्च पदमा राख्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘शिक्षा क्षेत्रमा विश्वविद्यालय, स्कुल, कलेज हरेक फिल्डमा राजनीतिक हस्तक्षेप छ । राजनीतिक दलहरुको हस्तक्षेप छ । त्यसै कारणले गर्दा आज हाम्रो देशको शिक्षा धरातलमा छ । मेरो प्रश्न यो छ कि कहिलेसम्म राजनीतिक दलहरुको विश्वविद्यालयमा हस्तक्षेप रहनेछ ? किन यस्तो भइरहेको छ ? किन राजनीतिकसँग सम्बन्धित व्यक्ति नै कुलपति वा प्रोफेसर हुनुपर्छ ? किन अनुभव र ज्ञान भएको मान्छेलाई उच्च पदमा राख्न सकिरहेका छैनौँ ?’
नेकपा (एमाले) की सांसद ईश्वरी घर्तीले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा हालका निमित्त उपकुलपतिलाई नै नियुक्त गर्नेगरी प्रपञ्च गरिएको बताउनु भयो । उहाँले प्रधानमन्त्रीले नै यस विषयमा नाटक गरेको टिप्पणी गर्नुभयो ।
उहाँले भन्नुभयो – ‘निमित्त भिसी जो हुनुहुन्छ उहाँलाई नै भिसी बनाउनेगरी यो सबै नाटक, प्रपञ्च गरिएको छ भन्नेकुरा प्रष्ट हुन्छ । यदि निमित्त भिसीलाई नै भिसी बनाउन यस्तो वातावरण बनाउनु थियो भने प्रधानमन्त्रीले मिडियामा मैले त अब त्रिभुवन विश्वविद्यालयलाई राजनीतिबाट मुक्त बनाउँछु । आवश्यक परे म कुलपति बाट राजीनामा दिन पनि तयार छु भनेर किन नाटक गरेको ? त्यो नाटक गरेकै जस्तो देखिन्छ ।’
उहाँले हालका निमित्त उपकुलपतिले आफ्नो क्षेत्राधिकार मिचेर विभिन्न पदमा नियुक्ति गरेको भन्दै ति सबै नियुक्तिलाई खारेज गर्नुपर्ने बताउनु भयो ।
—न्युज एजेन्सी नेपाल