काठमाडौं । विद्युतीय सिगरेट (भेप) मार्फत भएको ९ किलो सुन तस्करी प्रकरणमा प्रहरीले तस्कर समूहका चिनियाँ नागरिक दावोजिन वाङका गाडी चालक लोकेन्द्र पौडेललाई पक्राउ गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पौडेललाई केही दिनअघि पक्राउ गरेको एक अधिकृतले बताउनुभयाे । चौतर्फी दबाबपछि सीआईबीले १३ भदौमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुललाई पक्राउ गरेर सुन तस्करीबारे फेरि अनुसन्धान थालेको थियो । दोस्रो पटक थालिएको अनुसन्धानका क्रममा पौडेल पक्राउ परेकाे प्रहरीले जनाएकाे छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा नियमित जाँचका क्रममा २९ माघ २०७९ मा दुई वटा सुटकेशभित्र ७३ बट्टामा ७३० वटा भेप बरामद भएको थियो ।
गोदाममा राखिएका बेला त्यसमा सुन भएको थाहा पाएपछि भन्सारका नायब सुब्बा समेतको मिलेमतोमा भेप साटफेर गरेर ९ किलो सुन बिक्री गरिएको खुलेको थियो ।
प्रकरणमा अनुसन्धान गरेर सीआईबीले २७ असार २०८० मा जिल्ला अदालत, काठमाडौंमा आपराधिक विश्वासघात र संगठित अपराधको कसुरमा अभियोग पत्र दायर गरेको थियो । त्यसमा कृष्णबहादुर महरा र महराका छोरा राहुलको नाम समेत उल्लेख भएपछि उनीहरुमाथि अनुसन्धान गर्न दबाब बढेको थियो ।