अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी) प्रमुख सामन्था पावर मंगलबार काठाडौं उत्रिएलगत्तै भक्तपुरको आदर्शमा माध्यमिक विद्यालय पुगेर किशोरीहरूसँग बास्केटबल खेलेर रमाउनुभयाे । त्यसपछि दिनभर नागरिक समाज, केही उच्चस्तिरीय राजनीतिक भेटघाटमा व्यस्त बन्नुभएकाे पावरले त्यसको भालिपल्ट बिहानै नेपाली ट्रेल रनर मीरा राईसँग ट्रेल रनमा सहभागी हुनुभयाे ।
बुधवार काठमाडौंको जगडोलमा राई र उहाँको टिमसँग पावर ट्रेल रनमा सहभागी हुनुभयाे । ‘समथर ठाउँभन्दा उकालोमा दौडन मनपराउने मानिसहरु पनि संसारमा छन् भन्ने मैले आज थाहा पाएँ,’ ट्रेल रनमा सहभागी भएपछि अनुभव सेयर गर्दै पावरले भन्नुभयाे, ‘मीरा र उनको टिममा भएका युवालाई समथर ठाउँभन्दा उकालोमा दौडन मनपर्ने रहेछ । ट्रेलमा निकै आनन्दमय भयो । केही स्थानमा त मलाई निकै अप्ठ्यारो भयो तर, ट्रेल रनिङको सुन्दरता र अवसरबारे जान्ने अवसर पाएँ । म निकै खुशी छु ।’
पावरले ट्रेल रनिङमार्फत नेपालमा ‘इको टुरिजम’को प्रशस्त सम्भावना रहेको बताउनुभयाे । मीरालगायतका ‘टुरिजम आन्ट्रप्रिन्योर’ हरूसँग सहकार्य गर्दै नेपालमा पर्यटनको प्रवर्द्धन गरेर धेरै भन्दा धेरै युवाको लागि रोजगारीको अवसर सिर्जना गर्न र नेपालको विकासमा सहयोग गर्न यूएसएआईडी उत्साहित रहेको उहाँको भनाइ थियो ।