वासिङटन डिसी । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बन्नुभएकाे छ । उहाँले पार्टीका प्रतिनिधिबाट सबैभन्दा बढी मत प्राप्त गर्नुभएकाे हाे । यही महिनाको अन्त्यमा सिकागोमा हुने डेमोक्रेटिक राष्ट्रिय महाधिवेशनअघि सम्भावित उम्मेदवारका रूपमा छनोट हुन पाउँदा आफू गौरवान्वित भएको कमला ह्यारिसले बताउनुभयाे ।
कमला ह्यारिस पहिलो अश्वेत महिला र दक्षिण एसियाली मूलकी पहिलो महिला हुनुहुन्छ जसलाई प्रमुख अमेरिकी पार्टीको राष्ट्रपतिको उम्मेदवारको रूपमा छनोट गरिएको छ। यदि उहाँले नोभेम्बरमा हुने चुनावमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई पराजित गर्नुभयाे भने उहाँ अमेरिकाको पहिलो महिला राष्ट्रपति पनि बन्नुहुने छ ।
राष्ट्रपति जो बिडेनले आफूलाई राष्ट्रपतिको दौडबाट टाढा राखेर कमला ह्यारिसलाई राष्ट्रपतिको लागि समर्थन गरेपछि ह्यारिसले भर्चुअल रोल कलमा कुनै विरोधको सामना गर्नु नपरेको बीबीसी समाचारमा उल्लेख छ। कमला ह्यारिसले शुक्रबार दिउँसो २३५० डेमोक्रेटिक प्रतिनिधिको समर्थन प्राप्त गरेपछि औपचारिक रूपमा राष्ट्रपति पदको उम्मेदवार बन्नुभएकाे हाे ।