काठमाडौं । अमेरिकाको अध्यागमन हिरासतमा एक जना नेपालीले ज्यान गुमाएका छन् । साढे दुई महिनादेखि अमेरिकाको अध्यागमन हिरासतमा रहनुभएका सिन्धुपाल्चोकका बाह्रबिसे नगरपालिका–६ का ३२ वर्षीय सुवास श्रेष्ठले टेक्सासको कर्नेस काउन्टी इमिग्रेसन प्रोसेसिङ सेन्टरमा गत सोमवार ज्यान गुमाउनुभएकाे हाे ।
अमेरिकाको इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट एजेन्सी आईसीईले उहाँको मृत्युको पुष्टि गरेको हो । उहाँको मृत्युको आधिकारिक कारण भने खुलाएको छैन । पारिवारिक श्रोतका अनुसार ०८० भदौ ५ गते उहाँ घरबाट हिँड्नुभएकाे थियाे । एजेन्टलाई ८५ लाँख रुपैयाँ बुझाएर उहाँ काठमाडौंबाट टर्की, स्पेन हुँदै मेक्सिको पुग्नुभएकाे थियाे ।
गत सेप्टेम्बर २ मा उहाँ मेक्सिकोबाट अवैधरुपमा अमेरिकाको एरिजोनाको लुकभिल छिर्नुभएकाे थियाे । उहाँलाई तत्काल अध्यागमनका अधिकारीले नियन्त्रणमा लिएर टेक्सासको कर्नेस काउन्टी इमिग्रेसन प्रोसेसिङ सेन्टरमा हिरासतमा राखेका थिए । हिरासतमा बसेको बेला कात्तिक २७ गते उहाँको मृत्यु भएको हो । उहाँलाई अवैधरुपमा प्रवेश गरेको भन्दै डिपोर्ट गर्ने तयारी थियो ।
सिन्धुपाल्चोकका बाह्रबिसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेतका अनुसार मृतक श्रेष्ठ बाह्रबिसे नगरपालिका–६ का वडाध्यक्षका छोरा भएकाे बताउनुभयाे । मृतक श्रेष्ठका श्रीमती र दुई सन्तान छन् । नगर प्रमुख बस्नेतले मृत्युको खबर पाए लगतै शव स्वदेश झिकाउने तयारी भइरहेको बताउनुभयाे ।
onlinekhabar