पोखरा । तनहुँको सदरमुकाम व्यास नगरपालिकाको दमौलीमा रहेको युआरएल दमौलीले शुक्रबार एक समारोहबीच स्थापना दिवस मनाएको छ । पोखराको सभागृहचोकमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)ले ७ वर्षअघि दमौलीमा शाखा खोलेको थियो ।
कार्यक्रममा व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले गुणस्तरीय ल्याब, अस्पतालहरुको स्थापना र सेवाले जनस्वास्थ्यको क्षेत्रमा जनताको पहुँच बढ्दै गएको बताउनुभयाे । दमौली अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा राजु नानामगरले युआरएल जस्ता ल्याबको स्थापनाले रोगको निदानमा सहज भएको बताउनुभयाे । युआरएल गण्डकी प्रदेशको पहिलो रेफरेन्स ल्याब हो । यसले गण्डकी प्रदेशका १० स्थानमा शाखा र ४ स्थानमा सेवा केन्द्र खोलेर सेवा दिइरहेको छ ।
कार्यक्रममा युआरएलका प्रबन्धन निर्देशक गणेशप्रसाद कोइराला, युआरएलका निर्देशक डा वसन्त पंगेनी, मेडिकल बयोकेमिस्ट भूपेन्द्रराज रेग्मी, नेपाल औषधी व्यवसायी संघ तनहुँ शाखा अध्यक्ष राजु दाहाल, नेसनल अपोलो अस्पताल दमौलीका अध्यक्ष चूडामणि दाहाल लगायतले बोल्नुभएकाे थियाे ।
युआरएलका अध्यक्ष अध्यक्ष ठाकुरप्रसाद पन्तले आफूहरु गण्डकीका बासिन्दालाई रक्त परीक्षणमा आत्मनिर्भर बनाउने प्रयत्नमा लागेको बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘प्रदेशको पहिलो र अग्रणी ल्याब भएको नाताले, एकमात्र आइएसओ सर्टिफाई ल्याब भएको नाताले हामीले यो क्षेत्रको अगुवाइ गर्नैपर्छ ।’ सामाजिक उत्तरदायित्व वहन गर्दै युआरएलले प्रदेशबासीलाई स्थानीय ठाउँमै सेवा दिने लक्ष्य लिएको उहाँले सुनाउनुभयाे ।