उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले प्राप्त अधिकारलाई सुरक्षित राख्दै आर्थिक सम्पन्नताको अभियानमा लाग्नुपर्ने बताउनुभएको छ ।
बिहीवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राजनीतिक दलहरुले जथाभावी गतिविधि गर्न थाले प्राप्त अधिकारहरु पनि गुम्ने खतरा रहेको बताउनु भयो । उहाँँले काँग्रेस जिम्मेवार पार्टी भएकाले कार्यकर्ताहरुले पनि सोहीअनुसार आफ्ना गतिविधि सञ्चालन गर्नुपर्ने बताउनु भयो । उहाँले आर्थिक सम्पन्नताको अभियानमा नागरिकलाई अधिकार दिलाउन काँग्रेस एक भएर लाग्नुपर्ने बताउनु भयो । उहाँले राजनीतिक साथै आर्थिक सुधारको नेतृत्व पनि काँग्रेसले लिनुपर्ने बताउनु भयो ।
उपप्रधानमन्त्री सिंहले भन्नुभयो, ‘हामीले प्राप्त गरेको अधिकारलाई सुरक्षितसँग राख्न सक्नुपर्यो । जथाभावी रुपमा पार्टीहरु गतिविधि गर्न थाल्यो, बोल्न थाल्यो भने त यो प्राप्त गरेको अधिकार पनि फेरि जान्छ । यो अधिकार जनतालाई २०१७ सालमा गुमेको अधिकार फेरि पुनः बहाली गर्न त ०४६ सम्म त पर्खिनुपर्यो नि त । कति दुःख, कति कष्ट गरेको छ । त्यो कारणले गर्दा हामी एउटा जिम्मवार पार्टीको जिम्मेवार कार्यकर्ता भएकाले प्राप्त अधिकार सुरक्षित राख्दै, यसलाई संस्थागत गर्दै आर्थिक सम्पन्नताको अभियानमा हामी अधिकार दिलाउनको लागि काँग्रेसले पोलिटिकल लिडरसिप दियो, अब पोलिटिकल लिडरसिप यो चाहीँ स्टाबिलिटीकासँगै इकोनोमिक प्रस्परेटिभका लागि लिडरसिप काँग्रेसले सम्हाल्नुपर्ने भएकाले हामीले हाम्रो पार्टीलाई व्यवस्थित रुपमा राख्नुपर्छ । पार्टीलाई व्यवस्थित राख्न हाम्रो १ नम्बर क्षेत्रमा युनिक किसिमको क्षेत्र छ । पार्टीको संगठन भनेको केबल कागजी रुपमा संगठन छ भन्दैमा हुँदैन । कार्यकर्ताहरु परिचालित हुनुपर्छ, अन्तरक्रिया स्वस्थ रुपमा हुनुपर्छ, आम जनतालाई चित्त बुझ्नेगरी कामबाट देखाउनु छ ।’
उपप्रधानमन्त्री सिंहले राजनीतिक स्थिरता जनताले चाहेकाले काँग्रेस र एमाले मिलेर सरकार बनेको बताउनु भयो । उहाँले कसैले बद्मासी गरेको भए विधि र नियमअनुसार कारबाही हुने बताउनु भयो । लोकतन्त्रमा विधिको शासन पालना हुने बताउनु भयो । सहकारी प्रकरणमा पक्राउ गरेका पूर्वगृहमन्त्री रवि लामिछानेप्रति लक्षित गर्दै उहाँले त्यति धेरै ठूलो गल्ती गरेको व्यक्तिमाथि प्रतिशोध गरेको आरोप लाग्ने गरेको बताउनु भयो । काँग्रेस र एमालेले गरेको सानो कुरालाई पनि ठूलो बनाइदिने गरेको बताउनु भयो ।
—न्युज एजेन्सी नेपाल