मुलुकको बेरुजु नियन्त्रण गर्न कर्मचारी संयन्त्र नै जिम्मेवार बन्न आवश्यक रहेको सांसदहरुले बताएका छन् । सार्वजनिक लेखा समितिको बुधवार बसेको बैठकमा समितिमा बोल्दै अधिकांश सांसदहरुले प्रधानमन्त्री वा मन्त्री भन्दा पनि मु्लुकको स्थायी सरकारका रुपमा रहेका कर्मचारीहरुले बेरुजु नियन्त्रण गर्ने पहिलो जिम्मेवार बन्न आवश्यक रहेको बताएका हुन् । उनीहरुले सरकारी खर्च व्यवस्थापन गर्ने जिम्मेवार अधिकारी कर्मचारी भएको भन्दै कर्मचारीहरु जिम्मेवार बन्न आवश्यक रहेको बताए । सांसदहरुले देश बनाउने जिम्मेवारी सांसद,मन्त्री सबैको भएपनि मुख्य जिम्मेवारी कर्मचारीको हातमा रहेको उल्लेख गरे । उनीहरुले कर्मचारी संयन्त्र जिम्मेवार बन्न नसके देशको आर्थिक विकासमा समस्या आउने बताए । सांसदहरुले पछिल्लो समय बढ्दै गएको बेरुजु तथा राजश्व वक्यौता असुल उपर गर्नको लागि मुख्य सचिव,अर्थ मन्त्रालय र महालेखापरीक्षकको कार्यालय समाधान लिन सक्नु पर्ने बताए । समिति बैठकमा बोल्दै सांसद डा.अमरेशकुमार सिंहले देशबाट पहिला श्रमिक,त्यसपछि विद्यार्थी र अहिले व्यापारी भगाउनतिर लाग्न थालेको बताउनु भयो । उहाँले सबैलाई देशबाट भगाएर देशमा कर्मचारी र नेतामात्रै बसेर देश लुट्यौ भनेर लागेको आरोप लगाउनु भयो । उहाँले मुख्य सचिवले सधैँ नियमन उल्लङ्घन गरेको भन्दै तीन–तीन महिना र १५ दिनमा सरुवा गर्ने काम गरेको बताउनु भयो । उहाँले देश मन्त्रीहरु र प्रधानमन्त्रीको मात्रै नभएको भन्दै अनियमितता गरेर सचिवहरु सरुवा गर्ने काम नगर्न आग्रह गर्नुभयो । उहाँले सचिवहरुलाई ६ महिना पनि मन्त्रालयमा टिक्न नभएर सचिवहरु नै एक अर्काको खुट्टा तान्नु लागेको आरोप लगाउनु भयो ।
उहाँले भन्नुभयो,‘देशबाट पहिला श्रमिकलाई भगायौं । त्यसपछि विद्यार्थीलाई र अहिले व्यापारी भगाउनतिर लागेका छौं । कर्मचारी र नेता मात्रै देशमा बसौं र देश लुट्यौं । विचौलिया पनि राखेर देश लुट्यौं । मुख्य सचिवलाई सोध्न चाहन्छु । नियमन किन उल्लङ्घन किन गर्नुहुन्छ । दुई वर्ष कर्मचारीहरुको एक ठाउँमा बस्नुपर्छ । तर तीन–तीन महिना र १५ दिनमा सरुवा हुन्छ । मन्त्रीहरुको मात्रै देश हो ? प्रधानमन्त्रीको बाउको देश हो ? देश जनताको हो । नयाँ मन्त्री आउने वित्तीय सरुवा हुन्छ । त्यो पनि अनियमितताको कारणले हो । देश नेपाली जनताको रहन दिइएको छैन । सचिवहरुलाई ६ महिना पनि मन्त्रालयमा टिक्न दिनुहुन्न । दुई वर्ष किन टिक्दैनन् । सचिवहरु नै एक अर्काको खुट्टा तान्नुहुन्छ । सरकारमा मन्त्रीहरु राम्रो देश बनाउन आएको हुँदैन लुट्न आएको हो ।’
त्यस्तै,एमाले सांसद गोकुल बास्कोटाले सरकारले उठाउनु पर्ने ३२५ अर्ब राजश्व वक्यौता उठाउनै पर्ने बताउनु भयो । उहाँले अहिले सरकारले ऋण कारेर घ्यु खान लागेको बताउनु भयो। उहाँले सरकारले ऋण लिएर कर्मचारीहरुलाई दशैँ भत्ता पेश्की दिन ऋण दिन लागेको बताउनु भयो । उहाँले मुख्यसचिव, अर्थ मन्त्रालय र महालेखाले समाधान दिनुपर्ने बताउनु भयो । उहाँले सबैभन्दा बढी बेरुजु अर्थ मन्त्रालयमा रहेको भन्दै ९६० अर्ब मध्ये ५७ प्रतिशत रहेको बताउनु भयो । उहाँले सरकारको यो तरिकाले सुशासन कायम नहुने बताउनु भयो ।
उहाँले भन्नुभयो,‘सरकारले उठाउनुपर्ने ३२५ अर्ब राजश्व वक्यौता उठाउनैपर्छ । अहिले सरकारले ऋण कारेर घ्यु खाँदैछ । कर्मचारीहरुलाई दशैँ भत्ता पेस्की दिन ऋण दिँदै छ । बजेट आएको दुई महिना भयो । लक्ष्य अनुसार राजश्व उठ्यो की उत्पादन वृद्धि वा रेमिट्यान्स आयो थाहा छैन । मुख्य सचिव, अर्थमन्त्रालय र महालेखाले कसरी समाधान दिन्छ । सबै भन्दा बढी बेरुजु अर्थ मन्त्रालयको छ । ९६० अर्ब मध्ये ५७ प्रतिशत भनेको कति हो । यो तरिकाले सुशासन कायम गरिएको छ वा छैन । अर्थमन्त्री बेरुजु उठाउन, बाँकी उठाउने विषयमा के गर्छ । सरकारी सम्पति के छ र सदुपयोग के छ । लिलामीमा के चढाउनु पर्ने हो दुरुपयोग रोक्न के गर्छौं ।’
त्यस्तै,बैठकमा नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले स्विस बैंकमा रहेको ४६ अर्ब ६४ करोडको खोजी लेखा समितिले गर्न सक्नुपर्ने बताउनु भयो । उहाँले राष्ट्र बैंकको ऐन अनुसार अनुमति बिना बाहिर रकम राख्न नपाउने भन्दै यस्तो कहाँबाट भयो ? खोजी गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेका तथ्याङ्क पनि मिथ्याङ्कमा परिणत हुने गरेको बताउनु भयो। उहाँले महालेखापरीक्षक कार्यालयलाई लेखापरीक्षण गर्दा देखिने समस्या समाधानको लागि विज्ञ छानबिन समिति गठन गर्न माग गर्नुभयो ।
त्यस्तै,नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले महालेखापरीक्षकको कार्यालयले अडिटलाई डिजिटल प्रविधिमार्फत गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले पुरानो तरिकाको अडिट गर्ने प्रणाली खर्चिलो र अपारदर्शी पनि भएको बताउनु भयो । उहाँले अडिट स्थानीय तहमा आतंक हुन्छ अडिटरलाई भनेर छुट्टै बजेट व्यवस्थापन गर्ने काम हुने बताउनु भयो । उहाँले अब अडिटर आतंक भन्दा पनि सहयोगी हो भन्ने बनाउन आवश्यक रहेको बताउनु भयो ।
त्यस्तै,राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले सार्वजनिक लेखा समितिको बैठक काम नभएको भन्दै समितिले दिएका निर्देशन पालना गर्नु काम हुने बताउनु भयो । उहाँले अब मन्त्रालयका सचिवहरु मन्त्रीका प्रिय सचिव हुन छोड्न आग्रह गर्नुभयो। उहाँले मन्त्रालयका सचिवहरु आम नागरिकका पनि सचिव बन्नसके मात्रै देश बन्ने बताउनु भयो । उहाँले जिम्मेवार ठाउँमा बस्नेहरु सन्ततिको लागि सम्पती जोड्न खोज्दा मुलुकमा बेथिति बढ्दै गएको बताउनु भयो ।
त्यस्तै,नेपाली काँग्रेसका सांसद सञ्जय गौतमले देशका कर्मचारी नेतासबै बेमाइमानी भएको बताउनु भयो । उहाँले सबै मिलेर मुलुकलाई समृद्ध बढाउने भन्दा पनि अन्य केही सोचिरहेको बताउनु भयो ।
उहाँले देश पातलो हुँदै गएको छ तर देशका नेता र कर्मचारी मोटाउँदै गएको बताउनु भयो । उहाँले स्रोत र साधनले सम्पन्न भएपनि मुलुक बनाउने भन्दा बिगार्न तर्फ नेतृत्व लागेकाले आर्थिक अभावमा बाच्नुपर्ने अवस्था आएको बताउनु भयो ।