मस्को । युक्रेनलाई थप हतियार उपलब्ध गराए द्वन्द्व चर्किने चेतावनी बुधबार क्रेमलिनले दिएको छ। युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीको ह्वाइट हाउस भ्रमणका क्रममा वासिङ्टनले कीभका लागि नयाँ हतियार प्याकेज घोषणा गर्ने सम्भावना भएकोले क्रेमलिनले युक्रेनलाई सहयोगी राष्ट्रले थप हतियार उपलब्ध गराउँदा द्वन्द्व चर्किने चेतावनी दिएको हो।
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले बुधबार वासिङ्टनमा अमेरिकी समकक्षी जो वाइडेनसँग भेटवार्ता गरेका छन्।
ह्वाइट हाउसकी प्रवक्ता करिन जिन पियरेले मङ्गलबार र युक्रेनी राष्ट्रपति जेलेन्स्की स्वयंले बुधबार मात्र भ्रमण कार्यक्रमबारे पुष्टि गरेका थिए। पियरेले एक विज्ञप्ति जारी गर्दै भने, ''यो भ्रमणले युक्रेनलाई जति सक्दो लामो समयसम्म सहयोग गर्ने अमेरिकाको दृढ प्रतिबद्धतालाई दर्शाउनेछ।''
जेलेन्स्कीले बुधबार गरेको ट्वीटर सन्देशमा आफ्नो अमेरिका भ्रमणबारे पुष्टि गर्दै लेखेका थिए, ''युक्रेनको लचकता र प्रतिरक्षा क्षमतालाई मजबुत बनाउन म अमेरिका जाँदैछु।''