काठमाडौं । टर्कीमा फेरि शक्तिशाली भूकम्प गएको छ । स्थानीय समयअनुसार बिहान ४ बजेर १७ मिनेटमा ७.८ रेक्टर स्केलको भूकम्प गएको टर्कीमा दिउँसो एक बजेर २४ मिनेटमा ७ .५ रेक्टर स्केलको अर्को शक्तिशाली भूकम्प गएको बीबीसीले जनाएको छ ।
बिहान भूकम्प गइसकेपछि त्यहाँ थुप्रै परकम्पहरू गइरहेका अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । भूकम्पका कारण टर्कीसँगै सिरियामा पनि ठूलो जनधनको क्षति भएको छ ।
दुवै देशमा गरेर अहिलेसम्म कम्तीमा एक हजार दुई सय जनाले ज्यान गुमाएका बीबीसीले जनाएको छ । दुई हजारभन्दा धेरै व्यक्ति घाइते भएका छन् ।
अहिले खोजी र उद्धार चलिरहेकाले ज्यान गुमाउने तथा घाइते हुनेको सङ्ख्या अझै धेरै बढ्न सक्ने बीबीसीले जनाएको छ । भूकम्पबाट भौतिक संरचना भत्किएका दृश्य सामाजिक सञ्जालमा पनि सार्वजनिक भएका छन् । प्रभावित क्षेत्रको अवस्था निकै कष्टकर बनेको छ ।