चाँदीको थालमा चाँदीकै चम्चाले खाना खाने सुविधा
पोखरा । पोखराको लेकसाइडमा ८ करोड भन्दा माथिको लगानीमा त्रिपुरा लाउञ्ज एण्ड बार संचालनमा आएको छ । लामो समय देखि पोखरामा एसियना म्यारक्यु क्लब संचालन गर्दै आउनुभएका व्यवसायी सुमन कुमार श्रेष्ठले उक्त लाउञ्ज संचालनमा ल्याउनुभएकाे हाे ।


लाउञ्जको डिजाइन रोयल स्टाइलमा गरिएको छ । दुई सय वर्ष अगाडि नेपालका राजाहरु बस्ने दरबारको झल्को दिने गरी आफुले त्रिपुराको भवन निर्माण गरेको दाबी उहाँको छ ।
‘पोखरामा पछिल्लो समय थुप्रै रेष्टुरेण्टहरु संचालनमा आएका छन् । हामीले केही फरक गर्ने कोसिस गरेका छौं । राजाहरु बस्ने दरबार शैलीमा भवनको स्टक्चर निर्माण गरिएको छ । आशा छ, पोखरेलीहरुलाई मन पर्नेछ ।’, उहाँले भन्नुभयाे ।

लाउञ्जको टप फ्लोरमा पृथ्वीनारायण शाहको शालिक निर्माण गरिएको छ । रेष्टुरेण्टमा इतिहास झल्काउने गरी राजाहरुको तस्बिर समेत राखिने श्रेष्ठले बताउनुभयाे । कोरोना अघिदेखि सुरु भएता पनि निर्माणको काम अहिले आएर सम्पन्न भएको भनाई उहाँको छ । नेपालमा दक्ष कालिगढको अभावका कारण भारतबाट कालिगढहरु बोलाएर काम गरेता पनि बीचमा नै उनीहरुले काम छाडेका कारण निर्माण कार्यमा ढिलाई भएको अभिव्यक्ति उहाँको थियो । पछि नेपालकै कालिगढबाट उहाँले सो काम सम्पन्न गर्नुभयाे ।
लेकसाइड १५ नम्बर स्ट्रिट भित्र एक रोपनी जग्गामा फैलिएको त्रिपुरामा पारिवारिक वातावरणमा ग्राहकले सेवा लिन पाउने उहाँले बताउनुभयाे । सबै वर्गका ग्राहकलाई लक्षित गर्दै आफुले लाउञ्ज संचालनमा ल्याएको भनाई उहाँको छ ।
‘लगानी बढी लाग्यो भन्दैमा धेरैले महङ्गो छ भन्नुहुन्छ होला । तर त्यस्तो छैन । सुलभ दरमा सेवा पाउनुहुनेछ ।’, उहाँले भन्नुभयाे ।
त्रिपुरामा चाँदीको थालमा चाँदीकै चम्चाले खाना खाने सुविधा रहेको जानकारी समेत उहाँले गराउनुभएकाे छ । राजा महाराजाले खाने खाना अब आम नागरिकले त्रिपुरामा खानेछन् ।
म्यानेजर विकास गुरुङले त्रिपुराको विशेषता भनेकै क्लासिक वातावरण रहेको उल्लेख गर्नुभयाे । उहाँले क्याफे, लबिहल, लाइभ म्युजिक सहितको सेवा त्रिपुरामा उपलब्ध रहेको जानकारी गराउनुभयाे । उहाँले केही निर्माणको काम बाँकी रहेकाले अबको एक महिनामा त्रिपुराको ग्राण्ड ओपनिङ गर्ने तयारीका साथ आफुहरु लागिरहेको समेत बताउनुभयाे ।
त्रिपुराका संचालक श्रेष्ठ बक्सिङका राष्ट्रिय खेलाडी हुनुहुन्छ । खेलजीवन सँगै उहाँ व्यवसायमा लाग्नुभयाे । १५ वर्षदेखि लेकसाइडमा नै क्लब संचालन गर्नुभएका श्रेष्ठले नै त्रिपुराको इन्टरियर डिजाइन गर्नुभएकाे हा ।