काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुनसहित एक जना पक्राउ परेका छन् । फ्लाई दूबईबाट आएका गोरखा, बारपाकका चन्द्र घलेको साथबाट दुई किलो सुनको गरेर ७ वटा विस्कुट बरामद भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दले बताउनुभयाे ।
सुन ल्याउन लगाउने मिन घलेलाई पनि प्रहरीले धुम्बाराहीबाट पक्राउ गरेको उहाँले बताउनुभयाे । विशेष सूचनाका आधारमा खटिएको विमानस्थल भन्सार कार्यालय र प्रहरीको टोलीले उहाँलाई पक्राउ गरेको हो ।
डीआईजी चन्दका अनुसार, गोरखाका घले सुन बोक्न प्रयोग भएका भरिया मात्र हुन् । ‘उनलाई सुन ल्याउने भरियाका रुपमा मात्र केही अघि दूबई पठाइएको देखिन्छ’, चन्दले भन्नुभयाे, ‘अस्कोटमा लुकाएर उनले सुन ल्याएका थिए ।’
गएराति ११ः५६ बजे फ्लाई दुबईको एफजेड ५७३ विमानबाट काठमाडौं अवतरण गरेकाे प्रहरीले जनाएकाे छ । विशेष सूचनाको आधारमा भन्सारको टोलीले घलेलाई अवतरण गर्ने वित्तिकै पक्राउ गरेको विमानस्थल स्रोतले बताएको छ ।
थप अनुसन्धान भन्सार कार्यालयले गरिरहेको छ । प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले दुई दिनअघि मात्र तस्करीको सुन राखेको आशंकामा न्यूरोडको सुन पसलमा छापा मारेर झण्डै ८ किलो सुन बरामद गरेको थियो ।
onlinekhabar