निजामती कर्मचारीका संगठनहरूले दलगत ट्रेड युनियन खारेज गर्न नहुने बताउनुभएको छ ।शुक्रवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा संघीयय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा आफ्नो सुझाव प्रश्तुत संगठनका प्रतिनिधिहरुले यस्तो बताउनुभएको हो । निजामती कर्मचारीको संगठित हुने अधिकार कुण्ठित गर्ने काम नगर्न उहाँहरुको सुझाव छ । बैठकमा एमाले निकट नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष लेखनाथ कोईरालाले ट्रेड युनियन अधिकारमा मौजुदा कानूनले निरन्तरता पाउनुपर्ने बताउनु भयो । उहाँले विधेयकका सन्दर्भमा सम्पूर्ण कर्मचारी युनियनहरुको साझा धारणा रहेको उल्लेख गर्दै वर्षाैँ पहिले टुंगिएको विषय खोतल्न नहुने बताउनु भयो । उहाँले समग्रमा निजामति विधेयक प्रगतिशील भएको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘अहिले हामी जुन विधेयकका बारेमा छलफल गरिरहेका छौं यो विधेयकका धेरै कुराहरु राम्रा छन्, स्पष्ट छन् । केही न केही रुपमा यो विधेयक प्रगतीलि छ । तर यसमा समावेश नभएका केही कुराहरु अस्पष्ट छन्, जे कुरा राख्नुपथ्र्यो त्यो कुरा नराखिएको स्थिति छ । संशोधनको गुञ्जायस पनि उत्तिकै छ । हामीसँग यसमा १ हजार ५ सय ८३ वटा संशोधनहरु परेका छन् । माननीयज्युहरुले हाम्रो भावना बुझेर संशोधन प्रश्ताव गर्नुभएको छ । उहाँहरुलाई ट्रेड युनियनको तर्फबाट धन्यावाद पनि भन्न चाहन्छु । यस विधेयकका सम्बन्धमा जति पनि ट्रेड युनियनहरु छौं सबैको मुल कुराहरुमा साझा दृष्टिकोण छ, साँझा सुझाव छ । फरक केही छैन हामीले त्यो सजिलो बनाएका छौं । ९ वर्षअघि जे जे कुराहरु टुंगिसकेका थिए । ति कुराहरु पनि आज खोतलिने र तिनलाई पुनःजागरण गर्ने कुराले हाम्रा काम कारबाहीलाई ढिला पो लान्छ कि भन्ने चिन्ता लागेको छ ।’
नेपाली काँग्रेस निकट नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपालप्रसाद पोखरेलले विधेयकको बारेमा आफूहरु चिन्तित रहेको बताउँदै कर्मचारीको ट्रेड युनियन अधिकारलाई तलमाथि नगर्न सुझाव दिनुभयो । उहाँले कर्मचारीबाट अराजक र काम नगरेको भएको दण्डित गर्न मौजुदा कानून कार्यान्वयन गर्नुपर्नेमा उहााको जोड । उहाँले राष्ट्रियस्तरको ट्रेड युनियनको मौजुदा कानूनमा रहेको व्यवस्थाले निरन्तरता पाउनुपर्ने आफूहरुको बटमलाइन रहेको बताउनु भयो । उहाँले ट्रेड युनियन आजकै अवस्थामा कायम गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो,‘विधेयकका सम्बन्धमा हामी एकदमै चिन्तित छौं सभापतीज्यु । तपाई बुझाउन नसक्नुभएको हो कि मैले बुझन नसकेको हो ? यो कुरामा हामी बढी चिन्तित छौं । ट्रेड युनियन अधिकारलाई एक इन्च पनि तलमाथि गर्न सकिँदैन । सकिन्छ भने यसलाई व्यवस्थापन गरौं । हामी कर्मचारीबाट अराजक भएको छ, गााली बेइज्जत भएको छ अथवा मन्त्रीज्यूमाथि दुव्र्यवहार भएको छ भने दण्डित गर्ने मौजुदा कानून कार्यान्वयनमा ल्याउँ । कुनै कर्मचारीले आफ्नो सीमा नाघ्छ भने ति कर्मचारीहरुलाई कारबाही हुनुपर्छ । ति कुरामा कारबाहीको प्रक्रिया अगाडि बढाउँ, त्यसो भन्दैमा कर्मचारी अराजक भए कार्यालयमा काम गर्दैनन् भन्ने जुन गुनासो आएको छ । त्यसमा करेक्शन गर्नुपर्छ । तर हामीले संघीय निजामति सेवा ऐनमा बनाएको बटमलाइनको कुरा के थियो भने राष्ट्रियस्तरको ट्रेड युनियनको मौजुदा कानूनमा रहेको व्यवस्थाले निरन्तरता पाउनुपर्छ । सकिन्छ भने यसलाई व्यवस्थित गरौं । दलीय ट्रेड युनियन भन्ने जुन बहस चलाउनु भयो यो दलीय होइन राष्ट्रियस्तरको ट्रेड युनियन हो । लोकतन्त्रमा कुनैपार्टीसँग विचार मिल्छ भने त्यसलाई अन्यथा लिन पनि पाइँदैन । त्यसकारण ट्रेड युनियन आज जुन अवस्थामा छ त्यही अवस्थामा कायम हुनुपर्छ ।’
संघीय संसद सचिवालय कर्मचारी युनियनका अयक्ष गोविन्दप्रसाद बेल्वासेले राजनीतिक दलबाट प्रतिनिधित्व नभए आधिकारिक टे«ेड युनियन जन्मिन नसक्ने बताउनु भयो । उहाँले राष्ट्रियस्तरको ट्रेड युनियनहरुमा कार्यालय प्रमुख र शाखा अधिकृतभन्दा तल्लो तहका कर्मचारी संगठित हुनसक्ने व्यवस्था गर्न सुझाव दिनुभयो । कार्यालयप्रमुख बाहेक शाखा अधिृतसम्म ट्रेड युनियन अधिकार दिएर आधिकारकि ट्रेड युनियनमार्फत सौदाबाजी गर्ने रुपमा जानुपर्ने उहाँको धारणा छ ।
उहाँले भन्नुभयो, ‘ ट्रेड युनियन आधिकारिक ट्रेड युनियन भएर मात्र हुदैन । कुनै पनि राजनीतिक दलबाट प्रतिनिधित्व नै हुदैन भने आधिकारिक ट्रेड युनियन कसरि जन्मिन्छ ? त्यसैले मेरो स्पष्ट धारणा के हो भने राष्ट्रियस्तरको ट्रेड युनियनहरुलाई सम्बन्धित कार्यालय प्रमुख बाहेकमा राख्दाखेरि केही समस्या हुदैन । हामीले २०६५ सालदेखि निरन्तर रुपमा यसको अभ्यास गरेका छौं । अहिलेसम्म हाम्रो काममा वाधा भएको अथवा समस्या भएको देखिएको छैन । त्यसकारण कार्यालयप्रमुख बाहेक शाखा अधिृतसम्म ट्रेड युनियन अधिकार दिएर आधिकारकि ट्रेड युनियनमार्फत सौदाबाजी गर्ने रुपमा गइयो भने यसले समसयाको समाधान हुन्छ जस्तो मलाई लाग्छ ।’
बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा कर्मचारी युनियनका प्रतिनिधिहरुसँग छलफल गरेको हो । अधिकांश कर्मचारी संगठनका नेताहरुले दलगत टे«ड युनियन हटाउन नहुने धारणा राख्नुभयो । विधेयकमाथिको छलफलका क्रममा काँग्रेस–एमाले सांसदहरूले दलगत ट्रेड युनियन हटाइ एउटै मात्रै आधिकारिक ट्रेड युनियन राख्नुपर्ने बताउनुभएको थियो ।
—न्युज एजेन्सी नेपाल