काठमाडौं । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृङ्खलामा नेपालले आज च्याम्पियन स्कटल्यान्डसँग खेल्दैछ । खेल बिहान ९ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ । नेपालले स्कटल्यान्डसँग यो शृङ्खलाको अन्तिम खेल खेल्न लागेको हो । यसअघि भएको खेलमा नेपालले स्कटल्यान्डलाई तीन विकेटले हराएको थियो ।
त्यस्तै पछिल्लो खेलमा नेपालले नामिबियालाई तीन विकेटले तथा पहिलो खेलमा दुई विकेटले हराएको थियो । यो शृङ्खलामा नेपालले पहिलो पटक लगातार तीन खेल जितेको छ । शृङ्खला अन्तर्गत हिजो भएको खेलमा स्कटल्यान्डले नामिबियालाई ४३ रनले हराएको थियो । स्कटल्यान्ड ३५ खेलमा ५० अङ्कसहित शीर्षस्थानमा छ ।
लिग २ को च्याम्पियन बनेको स्कटल्यान्डले आज नेपालको खेलपछि नै ट्रफी पाउनेछ । लिगका सबै ३६ वटा खेल खेलिसकेको ओमन ४४ अङ्कसहित दोस्रो स्थानमा छ । दुवै टोली विश्व कपका लागि छनोट भइसकेका छन् । सात टोली रहेको लिग–२ बाट शीर्ष तीन टोली विश्व कपका लागि छनोट हुनेछन् ।
लिगको तेस्रो स्थानका लागि नामिबिया, यूएई र नेपाल प्रतिस्पर्धामा छन् । अहिले तेस्रो स्थानमा रहेको नामिबियाको ३४ खेलमा ३७ अङ्क छ । अब नामिबियाका दुई खेल बाँकी छन् । चौथो स्थानमा रहेको अमेरिकाको ३६ खेलमा ३५ अङ्क र पाँचौँ स्थानमा रहेको यूएईको २६ खेलमा २७ अङ्क छ । छैटौँ स्थानमा रहेको नेपालको २७ खेलमा २४ अङ्क छ ।
नेपालले नौ वटा खेल खेल्न बाँकी छ । पुछारमा रहेको पपुवा न्युगिनीले २८ खेलमा पाँच अङ्क मात्रै जोडेको छ । नामिबियाले बाँकी दुवै खेल जितेमा ४१ अङ्क हुनेछ । नेपालले सबै खेल जितेमा ४२ अङ्क हुनेछ । नेपालले यूएई र पपुवा न्युगिनीसँग चार–चार खेल खेल्नेछ । नेपाल, यूएई र पपुवा न्युगिनी सम्मिलित त्रिदेशीय शृङ्खला अर्को हप्तादेखि यूएईमा हुनेछ।