काठमाडौं I आज साउन महिनाको पहिलो सोमवार । काठमाडौंको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा भक्तजनहरुको भीड लागेको छ ।
काठमाडौंको पशुपतिनाथमा बिहानैदेखि भक्तजनहरुको भीड देख्न सकिन्छ । साउने सोमवारको पूजाआज गर्न आएका दर्शनार्थीका लागि बिहान ३ बजेदेखि नै चारै ढोका खुला गरेर भक्तजनलाई दर्शन गराइएको छ ।
दर्शनार्थीका लागि सुरक्षा, स्वयंसेवक परिचालन, दर्शन व्यवस्थापन, स्वास्थ्य शिविर, खानेपानी लगायत व्यवस्थापन गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
साउन महिना र सोमवार भगवान शिवजीको महिना र बार भएकाले पनि यस अवसरमा धेरै भक्तजनको भीड लाग्ने गर्छ । काठमाडौं उपत्यकामा पशुपतिनाथसहित, गोकर्णेश्वर, सन्तानेश्वर, डोलेश्वर, किराँतेश्वर, भालेश्वरसहित, काभ्रेपलाञ्चोकको साँगा, तनहुँको देवघाट, म्याग्लीको गलेश्वर लगायतका शिवालयमा भक्तजनहरु बिहानैदेखि स्नान गरी महादेवको पूजाआराधनामा व्यस्त छन् ।