कास्की । गण्डकी प्रदेशमा यस वर्ष किसानका लागि आवश्यक रासायनिक मल पर्याप्त रहेको जनाइएको छ । बर्सेनि धानखेतीको समयमा रासायनिक मलको अभाव झेल्दै आएका गण्डकी प्रदेशका किसानलाई कृषि सामग्री कम्पनी लिमिटेड पोखराले मल अभाव नहुने जानकारी दिएको हो ।
कृषि सामग्री कम्पनी लिमिटेड गण्डकी प्रदेश प्रादेशिक कार्यालय, पोखराका प्रमुख ठाकुरप्रसाद बास्तोलाका अनुसार हाल कम्पनीमा डिएपी २१ टन र युरिया पाँच टन गोदाममा छ । थप मल आउने क्रममा रहेकाले यस वर्ष धानखेतीको समयमा रासायनिक मल अभाव नहुने उहाँको भनाइ छ ।
यो वर्ष अहिलेसम्म मलको अभाव नरहेको राष्ट्रिय कृषक समूह महासङ्घ नेपालका केन्द्रीय उपाध्यक्ष चित्रनाथ सापकोटाले जानकारी दिनुभयो । धान लगाउने समयमा छिटपुटरुपमा पोटासको अभाव देखिए पनि युरिया र डिएपीको अभाव नरहेको उपाध्यक्ष सापकोटाको भनाइ थियो ।
गण्डकी प्रदेशमा एक वर्षमा पाँच हजार टन युरिया, तीन हजार टन डिएपी र पाँच सय टन पोटास आवश्यक पर्ने कृषि सामग्री कम्पनी लिमिटेड पोखराका प्रमुख ठाकुरप्रसाद बास्तोलाले जानकारी दिनुभयो ।