ढोरपाटन । जिल्ला सदरमुकाम बागलुङ बजार नजिकै छ मालिकाको बान्द्रेगाउँ । डाँडापाखाले घेरिएको यो गाउँ वर्षौँदेखि खानेपानीको समस्यामा छ ।
गाउँमा खानेपानीको समस्या समाधान गरिदिने बाचा गरेका धेरैपटक सत्तामा पुगे । व्यवस्था फेरिए तर खानेपानीको समस्या भने सधैँ उस्तै । पानीको अभावले बारीमा लगाएका सागका पालुवा ओइलिएका छन् ।
विद्यालयका शौचालय ढुङ्डुङ्ती गन्हाउने भएका छन् । बागलुङ नगरपालिका–५ मा पर्ने उक्त गाउँमा सहज खानेपानीको पहुँच नहुँदा स्थानीयसँगै यहाँको कृष्ण आधारभूत विद्यालयका विद्यार्थीले धित मर्ने गरी पानी पिउन पाएका छैनन् ।
दशकौँ अगाडि निर्माण भएको योजनाबाटै स्थानीयले खानेपानी उपभोग गर्दै आएका छन् । बिहान र बेलुका गरी दुई समय धारामा पानी आउँछ । थोरै समय आउने पानीले स्थानीयको गाग्री भरिँदैन । विद्यालयको ड्रम भरिन्न ।