काठमाडौं । लामो समयपछि सेयर बजार आज सोमवार बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २२ दशमलव ६५ अङ्कले बढेर १ हजार ९ सय ४९.०६ विन्दुमा पुगेको छ ।
आज सबै समूहको सेयर उकालो लागेको छ । गएको फागुन २५ गतेयता आज पहिलो पटक बजार दोहोरो अङ्कले बढेको हो । बजारसँगै कारोबार रकममा पनि सामान्य सुधार आएको छ ।
२ सय ५८ वटा कम्पनीका ५२ लाख ५५ हजार कित्ता शेयर १ अर्ब २९ करोड ८५ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै आईएमई जनरल इन्सुरेन्सको शेयर ७ करोड ६३ लाख रुपैयाँमा किनबेच भयो ।
आज सबैभन्दा धेरै युनिक नेपाल लघुवित्तको सेयर १० प्रतिशत र न्यादी हाइड्रो पावर कम्पनीको शेयर झन्डै ८ प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि आज सबैभन्दा धेरै सपोर्ट माइक्रोफाइनान्सको शेयर साढे ५ प्रतिशतले घटेको छ ।