काठमाडौं । हिजो बुधवार सात अङ्कले घटेको सेयर बजार आज बिहीवार भने दोहोरो अङ्कले बढेको छ । सेयर बजार परिसूचक नेप्से आज १२ . ४५ अङ्कले बढेर दुई हजार एक सय ८२ .६४ विन्दुमा पुगेको छ ।
म्युचल फन्डबाहेक अरू सबै समूहको सेयर बढेको छ । बजार बढे पनि कारोबार रकममा भने कमी आएको छ । हिजो तीन अर्ब ६९ करोड रुपैयाँको सेयर कारोबार भएकोमा आज दुई सय ५७ वटा कम्पनीका ५६ लाख ४८ हजार कित्ता शेयर दुई अर्ब छ करोड २० लाख रुपैयाँमा कारोबार भएका छन् ।
सबैभन्दा धेरै अपी पावर कम्पनीको पाँच करोड ८६ लाख र नबिल बैंकको पाँच करोड ७३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भयो ।
आज बाराही हाइड्रोको शेयर सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि आज सबैभन्दा धेरै गुराँस लघुवित्तको शेयर चार प्रतिशतभन्दा धेरैले घटेको छ ।