काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले बजारमा छ्यापछ्याप्ती गुणस्तरहीन औषधिहरू बिक्री भइरहेको गुनासो आइरहेको भन्दै सबै ठाउँमा निगरानी बढाउन औषधि व्यवस्था विभागलाई निर्देशन दिनुभएको छ ।
मङ्गलवार औषधि व्यवस्था विभागको अनुगमन तथा ब्रिफिङ लिने क्रममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गिरीले सीमित क्षेत्रको भन्दा पनि अब सबै ठाउँका फार्मेसीहरूको निरीक्षण र नियमन गर्न आवश्यक रहेको बताउनुभयो ।
उहाँले निगरानी र निरीक्षणको विषयमा आवश्यक जनशक्ति नभएको वा अन्य कुनै पनि बहाना नबनाइ प्रतिबद्ध भएर निरीक्षणमा लाग्न आग्रह गर्नुभयो ।
मन्त्री गिरीले नेपालमा नै अत्यावश्यक औषधि उत्पादन गर्नुपर्ने बताउनुभयो । उहँले नवीकरणसम्बन्धी कामहरू अनलाइन प्रणालीबाट गराउन पनि निर्देशन दिनुभयो ।
उहाँले भन्नुभयो, ‘बजारमा अहिले पनि गुणस्तरहीन औषधिहरू छ्यापछ्याप्ती छ भन्ने सुनेका छौँ । पछिल्लो समय सात प्रतिशत गुणस्तरहीन औषधि भेटियो भन्नुभयो, सबै ठाउँमा पुग्ने हो भने यसको आँकडा बढेर जानसक्छ ।
यसतर्फ हामीले कुनै पनि बहानामा नागरिकको स्वास्थ्यमा खेलबाड गर्नुहुँदैन । मन्त्रालयले के सहयोग गर्नुपर्छ, गर्नेछ ।
सातै प्रदेशमा औषधि विभागका कार्यालयहरू स्थापना गर्नुपर्छ, आवश्यक जनशक्ति व्यवस्थापन गर्नुपर्छ, अनुगमन र नियमनलाई प्रभावकारी बनाएर जानुपर्छ ।
अत्यावश्यक औषधि उत्पादनमा नेपाल आफैँ जुट्नुपर्छ, हामी त्यसमा आत्मनिर्भर बन्ने योजना बनाउनुपर्छ । अत्यावश्यक औषधिहरू नेपालमै बनाउने कार्ययोजना बनाउनुपर्छ ।