काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनमा समाजवादी मोर्चा बन्ने र त्यसको जगमा कम्युनिष्ट एकताको पहल गरिने बताउनुभएको छ।
शनिबार दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मधेस प्रदेशमा कार्यरत पार्टी केन्द्रीय सदस्यहरूको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले पहिला समाजवादी मोर्चा बनाउने र त्यसपछि कम्युनिष्टहरूको वृहत्तर एकताका निम्ति बहस सुरू गरिने बताउनुभयो।
“जनयुद्ध र जनआन्दोलनका मुद्दा सम्बोधन भइसकेका छैनन्, शान्ति प्रक्रिया टुंगोमा पुगिसकेको छैन” प्रधानमन्त्रीले भन्नुभयो, “शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायको सिद्धान्तका आधारमा राजनीतिक निकास दिने जिम्मेवारी हाम्रो काँधमा छ। यसका निम्ति समाजवादी शक्तिहरूको सहकार्य र एकता जरूरी छ।”
यस्तै उहाँले माओवादी धाराका कम्युनिष्ट घटकहरूबीच छलफल भइरहेको पनि बताउनुभयो । शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायसम्बन्धि विषय सत्य निरूपण तथा मेलमिलापको माध्यमद्वारा टुंगो लगाउनुपर्छ भन्ने सबैको साझा मत रहेको उहाँको भनाइ थियो ।
युरोप र बंगलादेशको क्रान्तिको उदाहरण दिँदै उहाँले नेपालमा पनि चुनौती र सम्भावनाको दोसाँधमा माओवादी रहेको बताउनुभयो । बृहत्तर वामपन्थी एकतामार्फत् चुनौती छिचोलेर समाजवादको ढोका खोल्नुपर्ने उहाँको भनाइ थियो ।