काठमाडौं । नेपाली कांग्रेस को संसदीय दलको कार्यसमिति बैठकले राष्ट्रिय सभाको उपाध्यक्षको चुनावका लागि अन्य राजनीतिक दलहरुसँग पनि छलफल गरेर अघि बढ्ने निर्णय गरेको छ । बिहीवार आज पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले नेपाली कांग्रेस संसदीय दलको बैठक माघ २६ गते १ बजे संसद् भवनको ल्होत्से हलमा बस्ने निर्णय गरेको बताउनु भयो । उहाँले संसद् भित्रको व्यस्तताका कारण केन्द्रीय कार्य सम्पादन समितिको बैठक केही समयका लागि सरेको बताउनु भयो । उहाँले राष्ट्रिय सभा उपाध्यक्षको चुनाव र राष्ट्रपतिको चुनावका बारेमा अरु राजनीतिक दलहरुसँग छलफलका क्रममा कांग्रेस रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘आउँदो २२ गते राष्ट्रिय सभाको उपाध्यक्षका निमित्त उम्मेदवारी दर्ता गर्ने र २३ गते चुनाव हुने कार्यक्रम रहेको छ । राष्ट्रिय सभाको उपाध्यक्षको चुनावको बारेमा अन्य राजनीतिक दलहरुसँग पनि छलफल गरेर अघि बढ्ने निर्णय गरेका छौँ । अर्को नेपाली कांग्रेस संसदीय दलको बैठक यही माघ २६ गते १ बजे संसद् भवनको ल्होत्से हलमा बस्ने निर्णय गरेका छौँ । संसद् भित्र व्यस्तता भएकाले केन्द्रीय कार्य सम्पादन समितिको बैठक केही समयका लागि सरेको छ । राष्ट्रिय सभाको चुनाव र राष्ट्रपतिको चुनावका बारेमा पनि हामी अरु राजनीतिक दलहरुसँग छलफलका क्रममा छौँ ।’
प्रमुख सचेतक लेखकले प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति र उपराष्ट्रपति र सभामुख र उपसभामुखमा राष्ट्रिय सहमति खोजेकाले त्यहीअनुसार वार्ताका लागि बोलाए कांग्रेस प्रधानमन्त्रीसँग वार्ता गर्न तयार रहेको पनि बताउनुभयो । उहाँले प्रधानमन्त्री सर्वदलीय बैठकमा समेत राष्ट्रिय सहमति खोजेकाले प्रधानमन्त्रीको प्रस्ताव र एजेण्डा बाहिरिएपछि कांग्रेस छलफलका लागि जाने बताउनु भयो ।