काठमाडौं । प्रधानमन्त्री समेत रहनु भएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जवाफ फर्काउनु भएको छ।
प्रचण्डले गत शुक्रबार दाङको तुलसीपुरमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै ६४ मा जस्तै भोट दिए देशबाट भ्रष्टाचारका जराकिला उखेलेर फाल्ने बताउनु भएको थियो ।
प्रचण्डको उक्त भनाइलाई ओलीले सोमबार भक्तपुरको सूर्यविनायक नगरपालिकामा आयोजित प्रशासकीय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै जवाफ फर्काउनु भएको हो ।
‘अचम्मको कुरा, ६४ को जस्तै भोट दिनुस् के के गर्छु गर्छु भन्नु भएछ एक ठाउँमा एक जनाले,’ प्रचण्डको नाम नलिइ ओलीले भन्नु भएको छ, ‘ए जमाना गयो त्यो । क्याम्पमा लडाकु थिए, आतकं थियो, त्रास थियो । सोझा जनतालाई दुर्बिनले हेर्या हुन्छ, कहाँ भोट लगायो थाहा पाउँछौं हामी पछि ठिक लगाउँछौं भनेर ।’
उहाँले ६४ को निर्वाचनमा सरकार र प्रशासन नै माओवादीका कारण निरीह बन्नुपरेको उल्लेख गर्नुभएको छ ।